सेनाका उच्च अधिकारीहरू कोही आँफै ‘साइड’ लाग्दै, कोही छानबिनमा !



काठमाडौं । नेपालको इतिहासमा प्रायः विवादरहित देखिएको नेपाली सेना पछिल्लो समय विवादित बन्दै आइरहेको छ । सांगठनिक रुपमा बलियो देखिएको नेपाली सेना पनि पछिल्लो समय नेतृत्व छनोटका लागि समस्यामा देखिएको छ ।

प्रधानसेनापतिको अवकाशपछि बरिष्ठ रथी प्रधानसेनापति बन्ने परम्परा रहेको नेपाली सेनामा आगामी नेतृत्वका उच्च बरियताका दुवै उपरथी विवादित बनेपछि नेपाली सेनाको आगामी नेतृत्व कसले पाउने भन्नेमा समस्या देखिएको छ । एक महिनादेखि रिक्त रहेको एक रथीका लागी उपरथी ताराध्वज पाण्डेलाई बढुवा सिफारिस गरिए पनि उनको जन्ममिति विवादमा आएपछि उनी आफैंले राजीनामा दिएका छन् ।

पाण्डेपछि बरियतामा देखिएको उपरथी अशोक सिग्देलको पनि जन्ममितिमा कैफियत देखिएको छ । अहिले नेपाली सेनाले उनको पनि आन्तरिक छानबिन गरिरहेकोले अब तेस्रो उपरथी बढुवा हुनसक्ने प्रबल सम्भावना देखिएको छ । सिग्देलले पनि पाण्डेले जस्तै गरेर राजीनामा दिनुपर्ने अवस्था आएको खण्डमा तेस्रो क्रममा उपरथीलाई संगठनको आगामी नेतृत्वको अभिभारा आउनसक्ने देखिएको छ ।

उपरथी सिग्देलको शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्म मिति १९ माघ २०२१ रहेको छ । तर, नागरिकतामा १९ माघ २०२३ रहेको छ ।

वास्तविक जन्ममितिअनुसार उपरथी पदबाट उनले यसअघि नै अवकाश पाइसक्ने अवस्था छ । सिग्देलले आफू चोखिनका लागि विभिन्न राजनीतिक चलखेल गर्न थालेको जनाइएको छ । जसले गर्दा पछिल्लो समय नेपाली सेनामा पनि राजनीतिक हस्तक्षेप बढ्दै जान थालेको हो कि भन्ने आंकलन गर्न थालिएको छ । ‘जसरी प्रहरी नेतृत्व छान्न चलखेल हुन्छ, त्यस्तै अवस्था सेनामा देखिएको छ,’ एक सैनिक अधिकारी भन्छन्, ‘केही व्यक्तिको महत्वाकांक्षाले सेना बदनाम मात्र होइन, कमजोर समेत भएको छ ।’

सिग्देलसँगै रोलक्रममा रहेका अर्का उपरथी निर्मलकुमार थापाको पनि जन्ममिति बारे सेनाले आन्तरिक छानबिन सुरु गरेको नेपाली सेना स्रोतले जनाएको छ । यदि सिग्देलको जन्ममितिमा कैफियत देखिएमा उनीपछि थापा रोलक्रममा रहेकाले संगठनले गर्ने बढुवाको सिफारिस फेरि निरर्थक हुने भयले सेनाले बढुवा सिफारिस गर्नुभन्दा अगाडि नै जन्ममितिसम्बन्धी आशंका निम्ट्याउन खोजेको हुनसक्छ ।

यसअघि बढुवा सिफारिसमा परेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि सेनाभित्र अन्य अधिकारीहरूको बारेमा पनि सेनाले सचेतता अपनाउन लागेको हुनसक्ने एक पूर्वसैनिक अधिकृतले बताए ।

सेनाले संगठनले गरेको सिफारिसमा फेरि विवाद नदेखियोस् भन्दै रोलक्रममा रहेका केही सैनिक अधिकारीहरुको आन्तरिक छानबिन गरिरहेको सैनिक स्रोतले जनाएको छ ।

हालका प्रधानसेनापति शर्माले आगामी वर्ष २४ भदौमा अवकाश पाउँदैछन् ।