असई ढुंगानाले गुमाए राष्ट्रसंघका महासचिवको सुरक्षामा खटिएकै बेला ज्यान 



काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्पमा खटिएका असई टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए । उनी १२ कार्तिकमा बेसक्याम्पमा गएका थिए।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगानाले आर्मी र प्रहरीको टोली लिएर एविसी गएका थिए । गुटेरेसको भ्रमण सकिएपछि असई ढुंगाना सहितको सुरक्षा टोली मंगलबार पैदल हिँडेर पोखरा फर्किंदै थिए ।

ढुंगाना अन्नपुर्ण गाउँपालिका–११ स्थित हिमालयन होटलमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि एयर डाइनेस्टिको हेलिकप्टरमार्फत उनलाई पोखरा ल्याएको एसपी थापाले बताए । उनी भन्छन्– ‘उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन् ।’ मृतक ढुंगाना पर्वतको मोदी गाउँपालिका–६ का स्थानीय हुन् ।