सेनाका मेजर पण्डित गुल्मबाट सम्पर्कबिहीन !

खोजीमा जुट्यो तीनै सुरक्षा निकाय



काठमाडौं । नेपाली सेनाका एक जना गुल्मपति सम्पर्कबिहीन भएका छन् । डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज मेजर विमल पण्डित हिजोदेखि सम्पर्कविहीन भएका हुन् ।

हिजो अपराह्न साढे चार बजे इभिनिङ वाकका लागि उनी ब्यारेकबाट निस्किएका थिए । आफ्ना सुरक्षा गार्डलाई समेत ‘तँ नआइज,आज म एक्लै जान्छु’ भनेर फर्काएका पण्डित झण्डै २४ घण्टासम्म बेखबर भएको घटनाले आशंका उब्जाएको त्यहाँका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले बताए ।

पण्डित हराएको पुष्टि गरेका डोल्पाका सिडियो भुमिश्वर पोखरेलले खोजविन भइरहेको जानकारी दिएका छन् । आज बिहानसम्म त्रिपुरातर्फ गएको भन्ने जानकारी प्राप्त भएको र खोजी कार्य त्यतै केन्द्रित गरिएको उनले बताए । उनको नेपाल प्रहरी, सशस्त्र र सेनाले खोजी कार्य सुरू गरिसकेको छ ।