२ बच्चा चोरेर बोरामा हालेर भारत लैजाँदै गरेका आलम सशस्त्रको नियन्त्रणमा



बारा – चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई जना बालबालिकासहित सशस्त्र प्रहरीले भाद्र ३ गते एक जनालाई नियन्त्रणमा लिएको छ ।

बीओपी दक्षिणझिट्कैयाले बारा जिल्लाको देवताल गाउँपालिका ३ अमुवाबाट भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ बर्षिय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो ।

चोरी भएका बालबालिका सोही गाँउपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र प्रेमचन्द महत्तोको २ बर्षिय छोरा सत्यमकुमार महत्तोको उद्धार गरिएको हो ।

सीमावर्ती ईलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीले बालबालिका रोएको आवाज सुनेपछि आलमले बोकेको बोराभित्र जाँच गर्दा दुई जना बालबालिका फेला परेका थिए ।

उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ भने नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।