विवादै-विवादका पर्याय ल्यारक्याल भए लुम्बिनी विकास कोष उपाध्यक्ष, यस्तो छ उनको विवादित विगत



काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्‌को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् । लामा पूर्वमन्त्री समेत हुन् । २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी अर्थराज्यमन्त्री नियुक्त भएका थिए । तिब्बत र नेपालको दोहोरा नागरिकता र राहदानीको विषय उठेपछि उनले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो।

दोहोरो नागरिकता, वैदेशिक रोजगार, राहदानी लगायतका अभियोगमा उनी पक्राउ पर्दै छुट्दै आएका छन् ।

यस्तो छ लामाको विगतः

२०५८ मा ल्यारक्याल लामालाई तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले गुम्बा व्यावस्थापन समितको अध्यक्षमा नियुक्ति गरेका थिए ।

अमेरिकाबाट गुम्बा विकासमा टन्न सहयोग ल्याउँछु भनेपछि उनलाई सिन्धुपाल्चोकका नेता मोहन बस्नेतले कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का मार्फत अध्यक्षमा नियुक्ति गराएको थियो ।

०६३ पछि फेरि उनी कांग्रेससँग निकट भएर सभासद् हुने खेलमा लागे । तर, सभासद् हुने संभावना नदेखेपछि एमालेमा लागे । सिन्धुपाल्चोक एमालेका नेता मार्फत उनले पार्टीको ठूला नेतासँग हिमचिम बढाए ।

अमृत बोहोरा र ईश्वर पोखरेल मार्फत एमालेको समानुपातिक सभासद भए । सभासद् हुँदा उनलाई धेरै एमाले नेताहरुले नै चिन्दैनथे । दोस्रो संविधानसभामा पनि एमालेबाटै सभासद बन्ने योजनामा थिए । तर, एमालेभित्र पहिलेको विवादका कारण नेताहरु जोखिम मोल्न तयार भएनन् ।

त्यसकारण उनी माओवादी केन्द्रतिर लागे । समानुपातिकको सूची बुझाउने अघिल्लो दिन उनी माओवादी प्रवेश गरे । माओवादीको चुनावमा राम्रो मत नआएपछि उनी समानुपातिक सभासद् बन्न पाएनन् ।

तर, पछि संविधानसभा अदालतले ५ कार्त्तिक ०७१ मा सभासद् शम्भु हजारा पासवानको पद खारेज गरेपछि ल्यारक्याललाई माओवादीले सांसद बनाएका थिए ।

लुम्बिनी विकास कोषको उक्त पदमा ल्यारक्याल लामासँगै भिक्षु रमेश कुमार बानियाँ, गायिका आनी छोइङ डोल्मा, निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय), पूर्व उपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध) र पूर्व सदस्य भिक्षु कुन्डयको पनि चर्चा चले पनि लामाले बाजी मारेका छन् ।