सशस्त्रका दर्जन कमाण्डरः बहाल रहँदा सपत्नी ज्यान गुमाउनेदेखि १३ दिनमै अवकाश लिनेसम्म…



काठमाडौं । नेपालको सबैभन्दा कान्छो सुरक्षा निकाय सशस्त्र प्रहरी बलले हालसम्म १२ जना कमाण्डर अर्थात् महानिरीक्षक (आईजी) पाएको छ । अहिलेसम्म ११ जना आईजीले कमाण्ड सम्हालिसकेका छन् भने १२ औं आईजी राजु अर्यालले कार्यभार सम्हालिरहेका छन् । हालसम्म सबैभन्दा कम १३ दिन र सबैभन्दा धेरै १४६० दिनसम्म कमाण्ड सम्हालेका आईजी छन् । सबैभन्दा कम किशोर कुमार लामाले १३ दिन नेतृत्व लिएका थिए भने सबैभन्दा धेरै शैलेन्द्र खनालले १४६० दिन सशस्त्रको कमाण्ड सम्हालेका थिए ।

सशस्त्र प्रहरी बल विधेयक र सशस्त्र प्रहरी ऐनले निर्दिष्ट गरेबमोजिम नेपालका अन्य सुरक्षा निकाय नेपाली सेना र नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी/सुरक्षा अधिकारीलाई सरुवा गरि स्थापना गरिएको सशस्त्र प्रहरी बलमा अहिलेसम्म ११ जना आईजीले अवकाश प्राप्त गरिसकेका छन् । सुरुमा नेपाली सेनाका १२० र नेपाल प्रहरीका १० हजार सुरक्षाकर्मीलाई सरुवा गरेर सशस्त्र बल गठन गरिएको थियो ।

माओवादी द्वन्द्व उत्कर्षमा पुगेकै बेला गठन भएको संगठन भएको हुनाले कतिपयले माओवादीविरुद्धका लड्नकै लागि गठन भएको संगठन भनेर पनि चरितार्थ गर्थे । तर, यथार्थ त्यस्तो होइन । प्रहरी र सेनाको बीचको अर्ध–सैनिक संगठनको रुपमा स्थापना गरिएको हो । ‘कुनै पनि कार्य, कुनै पनि समय र कुनै पनि ठाउँमा’ भन्ने मुख्य नारा रहेको सशस्त्रको मूलमन्त्र भनेको ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ नै हो । माओवादी द्वन्द्वको समयमा गठन गरिएकोले संगठनलाई उक्त आरोप लाग्नु पनि अन्यथा भने होइन ।

पछिल्लो समय मुख्यगरि विपतका बेला र देशको सीमा क्षेत्रको रक्षार्थ खटिएको सशस्त्र प्रहरीले बलले प्रशस्तै उतारचढाव भने भोगेको छ । पहिलो प्रमुखनै द्वन्द्वको शिकार बन्न पुगेका संगठनलाई त्यसपछिका कमाण्डरहरुको सक्षम नेतृत्वले देशकै अभिन्न अंगको रुपमा स्थापित भएको छ ।

यहाँ हालसम्म सशस्त्र प्रहरी बलको कमाण्ड सम्हालेका व्यक्तित्व र उनीहरुको समयावधिका बारेमा उल्लेख गरिएको छ ।

१. कृष्णमोहन श्रेष्ठः सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठ भएका थिए । उनलाई तत्कालिन माओवादीले बहाल रहेकै अवस्थामा राजधानीको ललितपुरमा गोली हानी हत्या गरेको थियो । उनको २ वर्ष पुग्नलाई ७ दिन बाँकी रहँदा हत्या गरिएको थियो । उनले २०५७ माघ १९ गतेदेखि २०५९ माघ १२ सम्म अर्थात् ७२३ दिन कमाण्ड सम्हालेका थिए ।

२. सहवीर थापाः माओवादी द्वन्द्वका कारण कमाण्डरको हत्यापछि संगठनको बागडोर सम्हाल्ने जिम्मा पाए सहबीर थापाले । उनी संगठनका दोस्रो आईजी हुन् । उनले २०५९ माघ १३ बाट २०६३ वैशाख २८ सम्म अर्थात् जम्मा १२०० दिन कमाण्ड सम्हालेका थिए ।

३. बासुदेव ओलीः सहवीर थापाको करिब ४ वर्षे कार्यकालपछि संगठनको कमाण्ड सम्हाल्ने जिम्मा बासुदेव ओलीले पाए । उनी २०६३ वैशाख २९ देखि २०६६ वैशाख २ गतेसम्म अर्थात् १०६८ दिन आईजी भएका थिए ।

४. सनत कुमार बस्नेतः बस्नेत संगठनका चौथो आईजी हुन् । उनले २०६६ वैशाख २ बाट २०६८ साल असार ३१ गतेसम्म कमाण्ड सम्हालेका थिए । उनले जम्मा ८१९ दिन सशस्त्र प्रहरीको नेतृत्व गरेका थिए ।

५. किशोरकुमार लामाः सशस्त्र प्रहरीको इतिहासमा सबैभन्दा कम नेतृत्व गर्ने अवसर पाएका किशोरकुमार लामाले कार्यबहाक रुपमै सेवा अवधि पूरा गरे । २०६८ साल साउन १ गतेदेखि कार्यबाहक आईजीमा पदबहाली भएका लामाले १३ दिन अर्थात् २०६८ साल साउन १४ गतेबाट संगठनको नेतृत्व छाडेका थिए ।

६. शैलेन्द्रकुमार श्रेष्ठः कार्यबहाक आईजी लामापछि पदभार सम्हाल्ने अवसर पाएका श्रेष्ठ संगठनका छैठौं आईजी हुन् । उनले २०६८ साउन १५ गतेबाट चैत २८ सम्म संगठनको नेतृत्व गरेका थिए । उनले जम्मा २५३ दिन संगठनको कमाण्ड सम्हालेका थिए ।

७. कोषराज वन्तः संगठनको नेतृत्वमा पहिलोपटक प्राविधिक व्यक्ति पुगे । इन्जिनियरिङ पृष्ठभूमिका वन्त २०६८ साल चैत २९ मा संगठनको नेतृत्वमा पुगेर १३३८ दिन अर्थात् २०७२ मंसिर २ गते अवकाश पाएका थिए ।

८. दुर्जकुमार राईः वन्तको लामो कार्यकालपछि संगठनको नेतृत्व सम्हाले दुर्जकुमार राईले । २०७२ साल पुस ३ गतेदेखि कमाण्ड सम्हालेका राईले अर्को वर्ष अर्थात् २०७३ फागुन २ सम्म जम्मा ४२५ दिन संगठनको कमाण्ड सम्हाले ।

९. सिंहबहादुर श्रेष्ठः दुर्जकुमार राईको कार्यकालपछि संगठनको नेतृत्व सम्हाल्ने अवसर पाएका श्रेष्ठले २०७३ फागुन ३ गतेबाट २०७४ चैत २८ सम्म संगठनको नेतृत्व सम्हाले । उनले जम्मा ४२० दिन संगठनको नेतृत्व सम्हाले ।

१०. शैलेन्द्र खनालः श्रेष्ठको कार्यकालपछि लामो समयका लागि संगठनको नेतृत्व सम्हाल्ने अवसर शैलेन्द्र खनालले पाए । उनी २०७४ साल चैत २९ गतेदेखि २०७८ साल चैत २८ गतेसम्म आईजी भए । उनले जम्मा १४६० दिन संगठनको नेतृत्व गरे । जुन सशस्त्र प्रहरी बलको अहिलेसम्मकै इतिहास अर्थात् १० आईजीमध्ये सबैभन्दा लामो समयावधि हो ।

११. पुष्पराम केसीः खनालको कार्यकालपछि बरिष्ठताको आधारमा एआईजी रामशरण पौडेललाइ पछि पार्दै आईजी बनेका केसी २०७८ चैत ३० देखि २०७९ वैशाख १८ गतेसम्मका लागि सशस्त्रको कमाण्ड सम्हाले । उनी १८ दिन संगठनको नेतृत्व सम्हाले । उनी किशोरकुमार लामापछि सबैभन्दा कम समय आईजी बने ।

१२. राजु अर्यालः केसीको अवकाश पाएसँगै संगठनको १२ औं कमाण्डरका रूपमा हालका आइजी राजु अर्यालले संगठनको नेतृत्व गर्ने अवसर पाएका छन् । आइजी नियुक्ति भए लगत्तै मुलुकमा सम्पन्न स्थानीय निर्वाचनमा होमिनु परेकोले उनले तत्कालै नेतृत्वको परिक्षा दिनु परेको थियो । त्यसपछि मंसिरमा सम्पन्न संघीय र प्रदेश सभाको निर्वाचनमा पनि सशस्त्रले खेलेको भूमिकाको सफल नेतृत्व गरेका अर्याल अझै खारिएका छन् ।

लामो समय संगठनको नेतृत्व गर्ने अर्यालले सशस्त्र प्रहरीभित्र ज्यादै लोकप्रिय काम गरेका छन् । जसको फलस्वरूप संगठनका साढे ६ हजार भन्दा बढी कर्मचारीहरूले एकैपटक बढुवाको अवसर पाउने भएका छन् । त्यसको प्रक्रिया अगाडी बढीसकेको अवस्था छ ।

सशस्त्रका विगतका नेतृत्वहरु विवादित हुँदा अर्याल भने लोकप्रिय बन्दै जाने देखिएको छ । उनले गरेको दरबन्दीसहित बढुवाको कार्यले संगठनको मेरुदण्ड मानिएको तल्ला तहका कर्मचारीहरु लाभान्वित हुने मात्र नभई संगठन र मुलुकप्रति उनीहरुले निर्वाह गर्ने कर्तव्यले पनि मुलुकलाई थप शान्ति सुरक्षा र सबल बनाउन महत्वपूर्ण योगदान पुग्दछ । उनी २०७९ वैशाख १८ गते पदबहाली भएसँगै आजका दिनसम्म एक वर्ष ३ महिना अर्थात् ४५५ दिनदेखि नेतृत्व सम्हालिरहेका छन् ।