सेनाबारेकाे अभिव्यक्तिबाट विवादित बनेका स्वर्णिमले प्रष्टीकरण दिँदै भने, ‘सेनालाई विवादमा तान्नेहरूको खराब नियतबाट सावधान रहनुपर्छ’

काठमाडौँ । नेपाली सेनाको सङ्ख्या घटाएर देशमा बढिरहेको खर्च घटाउन सकिन्छ भनेर अभिव्यक्ति दिएको भन्दै विवादित बनेका रास्वपा सांसद स्वर्णिम वाग्लेले प्रस्टीकरण दिएका छन् । केही दिन पहिले प्रतिनिधि सभा बैठकमा सेनाको सङ्ख्याबारे आफ्नो भनाई राखेका थिए ।

उनको भनाइ विवादित भएपछि आइतबार सामाजिक सञ्जालमार्फत उनले सुरक्षा निकायको सहमतिमै सङ्ख्या घटाउन वा बढाउन सकिने बताएका छन् । उनले यसबारेमा प्रधानसेनापतिलाई भेटेर कुरा गरेको सांसद वाग्ले बताएका छन् ।

उनले प्रस्टीकरणमा  भनेका छन्–‘नेपाली सेनाको गौरवशाली इतिहास छ । यो संस्थाको शान झन् बढाउँदै लानुपर्छ । जिम्मेवार सांसदका रूपमा बोल्नुअघि मैले प्रधान सेनापतिज्यूसँग नै भेटेर छलफल गरेँ । अहिलेको आकारबाट धेरै काम गर्नुपर्दा सैनिक संस्था चापमै रहेको बुझेँ र उहाँको यो कुरा मैले संसद्मै राखेँ । अबको बाटो भनेको एकीकृत सुधारको योजना तीन वटै सुरक्षा निकाय आफैले पेस गरुन् र त्यो प्रक्रियामा राजनीतिक सहमति होस, जे गरिन्छ, सुरक्षा निकायकै सम्मतिमा गर्नुपर्छ । आवश्यक भए सङ्ख्या बढाउने, आधुनिकीकरण मार्फत कुल सङ्ख्या घटाउने, वा यथावत् राख्ने । बोझिलो बन्दै गएको सङ्घीयता र कर्मचारी संयन्त्रमा पनि सुधार गर्नुपर्छ । वित्त र सुरक्षा नीति दुबैमा संवेदनशील भएको एउटा राष्ट्रिय दलले गर्ने यही हो ।’

उनले चौबाटोमा प्रोपगाण्डा गर्दै हिँड्नेहरूको हल्लाका पछाडि दौडन नहुने बताउँदै बहालवाला प्रधान सेनापतिसँगै छलफल गरेर जिम्मेवार कुरा गर्ने बताएका छन् । भ्रम फिँजाउँदै राष्ट्रिय सेनालाई विवादमा तान्नेहरूको खराब नियतबाट सावधान रहन पनि उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *