कोशी प्रदेशमा बाढी र पहिरोबाट ३१ जना सम्पर्कबिहीन



विराटनगर । कोशी प्रदेशमा बाढीका कारण ३१ जना बेपत्ता भएका छन् । गए राति आएको बाढी र पहिरोमा सङ्खुवासभामा २२ जना ताप्लेजुङ्मा ४ जना र पाँचथारमा ५ जना बेपत्ता भएको सशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख अन्जनी पोखरेलले बताए ।

सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ ।

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन् ।

साथै ताप्लेजुङमा एकैघरका ३ सहित चार जना बेपत्ता भएका छन् ।