पाण्डेलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति, आजैदेखि बयान लिइँदै



काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले ३ दिनको म्याद दिएको काठमाडौं प्रहरी परिसर स्रोतले जनाएको छ । स्रोतका अनुसार उनलाई बुधबार दिउँसो पक्राउ गरिएपछि परिसरले म्याद थपका लागि अदालतमा पेश गरेको थियो ।

उपराष्ट्रपति कार्यालयमा दरबन्दी रहेका सचिव पाण्डेमाथि आजैदेखि बयान लिने प्रहरीको तयारी छ ।

पाण्डे गृहसचिव रहेको समयमा आथिक लाभ लिएर नक्कली शरणार्थी बनाई अमेरिका पठाउने धन्दामा सघाएको आरोपमा पक्राउ परेका हुन् । उनी बालकृष्ण खाण गृहमन्त्री रहेको समयमा गृह सचिव थिए । साथै पाण्डेलाइ सिंहदरबार प्रहरी वृत्तमा राखेर अनुसन्धान सुरू गरिने पनि जनाइएको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई मंगलबार पक्राउ परेका थिए । त्यसैगरी पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीका साथै पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।