स्कुल बसले ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान रतलाको मृत्यु



काठमाडाैं – काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभार गेट नजिक स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

ना १ क १६१२ नम्बरको मोडर्न इन्डियन स्कुलको बसको ठक्करबाट मोटरसाइकल चालक बझाङको जयपृथ्वी नगरपालिका–५ घर भई सशस्त्र मुख्यालय, हल्चोकमा कार्यरत सशस्त्र प्रहरी जवान २९ वर्षीय सुवासचन्द्र रतलाको मृत्यु भएको हो।

बिहान ९ः०५ बागमती एएए २९०८ नम्बरको मोटरसाइकलमा सवार जवान रतला बसको ठक्करबाट गम्भीर घाइते भएका रतलालाई उपचारका लागि बयोधा अस्पताल, बल्खु लगिएकोमा बिहान १०ः३२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

ठक्कर दिने बस र त्यसका चालक भारतको जम्मूकश्मीर घर भई ललितपुरको कुपण्डोल बस्दै आएका ५४ वर्षीय गुर्मिट सिंहलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरले नियन्त्रणमा लिएको छ।