विशेषको फैसलापछि के भन्छन् त बालुवाटार जग्गा काण्डमा संलग्न भनिएका जोशी?



काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतबाट साधारण सफाई पाएपछि चन्द्रदेव जोशीले एक विज्ञप्ति निकाल्दै सबैलाई धन्यवाद दिएका छन् ।

७ करोड भन्दा बढी बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले जोशीलाई साधारण तारेखमा छाड्ने फैसला गरेपछि जोशीले सबैलाई धन्यवाद दिएका हुन् ।

उनले इमेलमार्फत पठाएको विज्ञप्तिको पूर्णपाठः

ललिता निवास जग्गा प्रकरणमा अ.दु.अ. आयोगले बिना कुनै ठोस आधार, स्पष्ट प्रमाण र कारण बिना मलाई भ्रष्टाचारको आरोप लगाइ रु. सात करोड भन्दा बढीको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेकोमा मेरो सामाजिक पृष्टभुमि, वैचारिक आस्था तथा राजनीति बारे सुने जानेका विभिन्न पत्रपत्रिका, अनलाइन, एफ.एम., टी.भी. लगायतका सञ्चार माध्यम तथा विभित्र पार्टीका राजनैतिक सहकर्मी, साहित्यकार तथा जान्ने सुन्ने आम ब्यक्तिहरूबाट ब्यापक विरोध तथा आश्चर्य प्रगट भएकै थियो । र, ती सबैप्रति त्यति बेलानै धन्यवाद ज्ञापन गरेको थिए ।

विगत छः दशकदेखि कम्युनिष्ट आन्दोलनको एउटा निष्ठावान सदस्यको हैसियतले पूर्ण निष्ठा तथा सैद्धान्तिक प्रतिवद्धसहित देशमा प्रजातन्त्रको पुनर्बहाली, राजतन्त्रको समाप्ति, गणतन्त्र तथा संघीयताको बहालीका लागि निरन्तर संघर्षरत रहेको, प्रथम संविधान सभाको सदस्यका हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान लेखनमा निष्ठापूर्वक सहयोग पुगाएको तथा एक दशकसम्म ने.क.पा (संयुक्त) को अध्यक्ष भै देशमा भएका सम्पूर्ण परिवर्तनमा निष्ठापूर्वक सक्रिय सहभागी रहेको व्यक्तिलाई बिना कुनै कसूर त्यस्तो अभियोग बेहोर्नु परेकोमा ज्यादै मानसिक तनावको अवस्थामा यो लामो कालखण्ड विताउनु पर्यो ।

यसै क्रममा अस्ति मिति ०७७/८/८ मा सम्मानित विशेष अदालत समक्ष थुनछेकको बहसको सिलसिलामा सम्माननीय न्यायमूर्ति द्वय श्रीमान प्रेमराज कार्की ज्यु तथा बालेन्द्र रुपाखेती ज्युको संयुक्त इजलासमा आफ्नो भनाइ राख्न उपस्थित भइयो । सम्माननीय न्यायमूर्तिहरूको न्यायपरायणता र विवेकपूर्ण विश्लेषणले मलाई लगाइएको आरोप निराधार र तथ्यपरक नभएको र बिगोको माग दाबीको आधारहीन भएको महशूस गरी नियम कानून बमोजिम साधार बोलाएको बेला उपस्थित हुने गरी साधारण तारेखमा राखेर मलाई न्याय प्रदान गर्नु भएको छ । न्यायमूर्ति द्वय र अदालतमा मलाई सहयोग गर्ने सम्पूर्ण कर्मचारीहरूलाई हृदयदेखी धन्यवाद ज्ञापन गर्द छु ।

यसकासाथै सम्पूर्ण ती कानुन ब्यवसायी साथीहरू जसले मेरो पक्षमा निशुल्क बहस गरी मलाई साथ दिनु भयो, विशेष गरी कानुन ब्यवसायी साथी श्री ललित बस्नेत, जस्ले म माथी अभियोग दर्ता भएको पहिलो खबर पाउना साथ घरमै आएर सम्पूर्ण अदालती कार्यवाही निशुल्क गर्छु आर्थिक कारणले चिन्ता नगर्नु होस भनि मेरो हाथ समात्नु भयो अधिवक्ता साथी भीमार्जुन आचार्य, जसले निशुल्क कानून लडाई लडने आश्वाशन मात्र होईन विभित्र संचार माध्यम सहित प्रत्यक अवसरमा मेरो निर्दोशिताको वकालत गर्नु भयो, नेपालका कानुन क्षेत्रका पितामह बरिष्ठ अधिवक्त श्री कृष्ण प्रसाद भण्डारी, अधिवक्ता साथी अमर थापा, जयदेव जोशी, जगतप्रसाद जोशी तथा अदालतले धरौटी माग गरेमा त्यति ठुलो रकम राख्ने मेरो आर्थिक हैसियत नभएको बुझि मलाई आर्थिक सहयोगको हाथ बढाउने सहृदयी साथीहरू सर्व श्री विजय शेरचन, नवीन भुजेल, राजेन्द्र मिश्रा, डा. गुणराज अवस्थी, सरस श्रेष्ठ, प्रा. जयराज अवस्थी, डा. सचिन अवस्थी, शेखरचन्द्र बडु, प्रधानाध्यापक श्यामराज जोशी, एनबी गिरीलगायतप्रति म ह्रदयदेखी नै आभारी छु । मेरो भोगको जेल सजाय भोग्न तयार छु भनि सार्वजनिक घोषणा गर्नु हुने मित्र रामकुमारी झाँक्री र उहाँलाई प्रतिकृया स्वरुप हामी पनि जोशीका लागि जेल बस्न तयार छैं‌ भनी मेरोप्रति आस्था देखाउनु हुने सम्पूर्ण प्रति नतमस्तक छुँ ।

अदालतले मलाई समान्य तारेखमा राखेकोपछि मलाई प्रारम्भिक न्याय प्राप्त भयो भनी विभिन्न माध्यमबाट खुसी जाहेर गर्नु हुने र मलाई शुभकामना दिनुहुने सबै प्रति आभारी छु ।

सार्वजनिक माध्यमहरुमा आइनैसकेको छ । ममाथि लागेको मुद्दामा कुनै आधार नै थिएन । विगतमा नै भइसकेको निर्णय जुन पारित हुन मन्त्री परिषदमा पहिलेनै पुगिसेको थियो, प्राविधिक कारणले फिर्ता भएकोमा अदालतको लगातारको ताकेता पछि पुन मन्त्रीपरिषदमा निर्णयार्थ पठाउनु मेरो पदीय दायित्व थियो । मैले नितान्त पदीय दायित्व निर्वाह गरेको हुँ । कुनै निर्णय गरेको होइन र मन्त्रीपरिषदबाट निर्णय हुनु पूर्वनै मैलै मन्त्री पदबाट राजिनामा समेत गरीसकेको थिए । त्यसैले निर्णयमा मन्त्रिपरिषदमा भएको आधारमा हुनसक्ने सामुहिक सहभागिता समेत मेरो थिएन ।

र साथै जुन ललिता निवास अन्तरगतको ठूलो जमीन अपचलनको सन्दर्भ छ । मेरो कार्यकालमा आएको सन्दर्भ मात्र ३ रोपनी १२ आना जग्गाको थियो जस उपरको निर्णय पनि पदीय दायित्वका आधारमा मैले मन्त्रिपरिषदमा पठाउनु परेको हो । वास्तविक ललिता निवास प्रकरणसँग यसको कुनै सम्बन्ध समेत नहुँदा मेरो नाम कसरी अख्तियारको सूचिमा पर्न गयो म आफै अचम्भित भएको हुँ ।

मलाई अख्तियारले मुद्दा दायर गरेपछि आम जनसमुदाय, बुद्धिजीवि, पत्रकार तथा मित्रहरुबाट जुन सहानुभुति र सहयोग प्राप्त भयो त्यसलाई मैले मेरो निष्ठाको राजनीतिक जीवन सफल भएको मानेछु । परिआएको अवस्थामा मेरो अनुभव, अध्ययन र सामर्थ्यले भ्याएको सहयोग नेपालको राजनीतिलाई गर्न अझै तत्पर र दृढ छु