राराको सुन्दरतासँगै खेलकुदबाट मुगु चिनाउने आदेशको अभियान
रारा ! आहा !
आजभोली हरेक नेपाली युवाले जीवनमा एकपटक पुग्नै पर्ने ठाउँका रुपमा लिने नाम । सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँमा प्रवेश गरेका हरेकले देख्ने एउटा सपना रारा गएर फोटो खिच्नु अनि पोस्ट्याउनु !
नेपालको दुर्गम प्रदेशको रुपमा चिनिएको कर्णाली । कर्णालीको पनि कर्णाली मुगु । त्यही मुगुको प्रसिद्धस्थल रारा नजिकैको एक युवा भने आफूसँग भएको चाह र सिप ‘एक्स्प्लोर’ गर्न खोजिरहेको छ । हरेक मानिसले सुन्ने गरेको रारा नै रहेको छायाँनाथ रारा नगरपालिका वडा नं. ८ को झ्यारी गाउँमा २१ वर्ष अघि जन्मिएको एक युवा अहिले एकीकृत मार्सल आर्ट (मिक्स मोसल आर्ट) को माध्यमबाट जिल्ला चिनाउन तल्लीन छ ।
छायाँनाथ–८ का आदेश विक जिल्लाकै पहिलो ‘ब्ल्याकबेल्ट’ हुन् । मुगु जस्तो दुर्गम जिल्लामा जन्मेर रहरमा खेल क्षेत्रमा लागेका आदेशले भविष्यको सपना ठान्दै पछिल्लो समय त्यही क्षेत्रमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ लागेका छन् । करोडौं मानिसहरुलाई जस्तै उनलाई पनि कोरोनाले गति लिन दिएन । देखेको सपना पूरा गर्न कोरोनाअघि मार्सल आर्ट सिकाउन थालेका आदेशलाई कोरोनाले धोका दियो, विश्वका अधिकांश मानिसलाई जस्तै । तर, उनी लागि रहे । अहिलेसम्म करिब सयको हाराहारी ‘चेला’का ‘गुरु’ बनिसकेका आदेशले कहिले गाउँकै चौर वा कहिले स्कूलको चौरमा मार्शल आर्ट सिकाइहेका भेन्छिन् ।
मुस्किलले ६ महिना खान पुग्ने मुगुका बालबालिकाहरुलाई मार्शल आर्टको रस बसाउन खोजेका छन् । साना–साना बालबालिका लिएर कहिले राराको किनार पुग्छन्, कहिले स्कूलको चौर पुग्छन् आदेश । आफूले ९ कक्षादेखि नै मार्सल आर्ट सिकेका आदेशले आर्थिक अवस्थाकै कारण कुनै बेला निरन्तरता दिन सकेनन् । तर, पनि साना बालबालिकाहरुलाई भने सिकाइरहेका छन् ।
सदरमुकाम गमगढीबाट करिब ३ घन्टाको दूरीमा रहेको उनको झ्यारी गाउँबाट रारा ताल पुग्नलाई भने १ घन्टाजति मात्र लाग्छ । अहिले पनि उनले करिब ३० जना बालबालिकाहरुलाई नियमित मार्सलआर्ट सिकाइरहेका छन् । तर, पछिल्ला दिनमा परिवारप्रतिको दायित्व पूरा गर्नुपर्ने बाध्यतालाई कसरी मिलाउने भन्ने द्विविधामा छन् आदेश ।
महाकाली उच्च माविबाट प्लस टु पास गरेका आदेशले आर्थिक अभावकै कारण ब्याचलर भर्ना हुन सकेका छैनन् वा हुने अवस्थामा पनि छैनन् । त्यसैले गाउँकै बालबालिकाहरुलाई मार्शल आर्ट सिकाएर भविष्य आप्mनो खोजीरहेका छन् । वृद्ध बा–आमा र साना भाईबहिनीप्रतिको कर्तव्यले थिचेको छ आदेशलाई । जसले गर्दा प्लस टु पास भए पनि अध्ययनकै लागि घर छाड्ने सु–अवसर भने पाएका छैनन् वा जुटाउन सकेका छैनन् ।
पछिल्लो समय उनलाई अध्ययनलाई अगाडि लैजान पाए हुन्थ्यो भन्दा पनि आफूसँग भएको सिपको प्रयोगबाट खेलकुदका माध्यमबाट गाउँ, नगर र अनि मुगुका साथै कर्णालीलाई चिनाउने अनि आप्mनो परिवारको बिहान–बेलुकाको गर्जो टार्ने ठूलो सपना छ । जिल्ला प्रशिक्षक भए पनि दुई छाक हातमुख जोड्नकै लागि संघर्ष गरिरहनुपर्दा कहिलेकाहिँ नियास्रो लाग्ने बताउँछन् आदेश । त्यसैमाथि कहिलेकाहिँको प्राकृतिक विपत्तिले भएको पाखोबारी र घर पनि बाँकी नराखिदिँदा उनकै मन झनै बैरागी बन्छ ।
गाउँको सरकार भनेको स्थानीय सरकारसँग ठूलो अपेक्षा छ आदेशको । तर, अपेक्षा पूरा हुन सकेको छैन । गत महिना कास्कीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत मुगुको प्रतिनिधित्व गर्दै आदेशले सहभागी जनाए । अपेक्षाकृत नतिजा हात पार्न नसके पनि आफू र आफ्ना चेलाहरुको प्रदर्शनबाट खुशी छन् आदेश । यस्तै प्रतियोगिताहरूमा नियमित रूपमा भाग लिने अवसरसम्म पाए पनि थोरै भए पनि सपना साकार हुने उनी बताउँछन् । अर्को पटक घरमै हुने प्रतियोगिताका लागि अहिलेदेखि नै योजना बनाएर अघि बढ्ने बताउँछन् उनी ।
त्यसका लागि मुगुमा खेलकुदको विकासका लागि स्थानीय तह, प्रदेश र संघले पनि केही गर्नुपर्ने आदेशको मान्यता छ । नगरपालिकाले पनि खेल क्षेत्रको विकासका लागि विशेष योजना नै बनाएर लाग्नुपर्ने आदेशको भनाई छ । अहिलेसम्मका प्रतियोगिताबाट ठूलो सफलता हासिल नगरिए पनि २०८१ मा हुने प्रतियोगितालाई लक्षित गर्दै प्रदेश, जिल्ला, नगरपालिका र हरेक स्थानीय तहले खेलकुदको विकासका लागि पहल गर्ने कुरामा आशावादी र विश्वस्त छन् आदेश ।