ब्यारेकमै झुण्डिएर ज्यान गुमाए नेपाली सेनाका जवान पुडासैनीले



काठमाडौं । नेपाली सेनाका जवान ४२ वर्षीय भुवन पुडासैनीले आफू कार्यरत ब्यारेकमै झुण्डिएर आत्महत्या गरेका छन्।

सोमबार बिहान ०६ः३० बजे काठमाडौं महानगरपालिका–८ गुह्येश्वरी फाँटस्थित त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लब भवनको पहिलो तलाको सिँढी छेउमा झुण्डिएर उनले आत्महत्या गरेका हुन्।

उनी नेपाली सेनाका व्यावसायिक गल्फ खेलाडीसमेत हुन्। जवान पुडासैनीले सूर्य नेपाल गल्फ टुर २०१२–१३ को चौथो इभेन्ट भाग, सूर्य नेपाल च्यालेन्जबाट गल्फ खेलमा व्यावसायिक रूपमा डेब्यु गरेका थिए। उनी त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा क्याडी मास्टर र पेशेवर खेलाडी थिए।

नयाँ श्रीनाथ गणमा दरबन्दी भई गल्फ क्लबतर्फ काजमा कार्यरत नुवाकोटको विदूर नगरपालिका–५ स्थायी घर भई हाल तिलगंगा बस्दै आएका उनी डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको सैनिक प्रवक्ता नारायण सिलवालले बताए।

घटनास्थलमा गौशाला  वृत्तबाट इन्स्पेक्टर एसपी आचार्यको कमाण्डमा गएको प्रहरी टोलीले अनुसन्धान तथा मुचुल्का उठाउने कार्य गरिरहेको बताइएको छ। जवान पुडासैनीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको सेनाले जनाएको छ।