बौंदीकालीकी एक्ली देउमाया जो जोगिइन् आयोगले तोकेको जरिवानाबाट…

अध्यक्ष प्रकाश ओझादेखि शून्य मत ल्याएकासम्म यी ६७ जनाबाट १ करोड १४ लाख ५० हजार जरिवाना उठाउने आयोगको सूचना (सूचीसहित)



नवलपुर – निर्वाचन आयोगले गत वैशाख ३० को स्थानीय निर्वाचनमा उम्मेदवारी दिएर समयमै खर्च विवरण नबुझाउनेहरुलाई जरिवाना तोकेको छ । जसअनुसार पूर्वी नवलपुरको बौंदीकाली गाउँपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई जरिवाना तोकिएको छ ।

आयोग स्रोतका अनुसार बौंदीकाली गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित प्रकाश ओझा, डिलकुमारी केसी सारुसहित छ वटै वडाका वडाध्यक्षहरुलाई जरिवाना तोकिएको हो । त्यसका साथै अन्य वडासदस्यहरुलाई पनि जरिवाना तोकिएको छ ।

वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई जनही १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । तर वडा नं. ३ कि महिला सदस्य देउमाया रुचालले भने खर्च विवरण बुझाएकोले उनलाई कुनै जरिवाना तोकिएको छैन ।

बौंदीकालीका ६ वटै वडाका रुचालबाहेक सबै उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको छ । गाउँपालिकाका ६ वटा वडामा ६१ जना उम्मेदवार रहेकोमा ६० जनाले जनही १ लाख ५० हजारका दरले जरिवाना बुझाउनुपर्ने देखिएको छ । यस हिसाबले ९० लाख रुपैयाँ वडाध्यक्ष र सदस्यहरुलाई जरिवाना तोकिएको छ ।

त्यस्तै पराजित उम्मेदवार अध्यक्ष खड्कबहादुर (केबी) राना, कृष्ण प्रसाद पराजुली, मधुकर नेपाली र उपाध्यक्षमा धनकान्ती घिमिरे, टंगबहादुर थापाले पनि जनही ३ लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ । आयोगको विवरण अनुसार बौंदीकाली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका ७ उम्मेदवारले मात्रै जनही ३ लाख ५० हजारका दरले २४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।

यससँगै बौंदीकालीका उम्मेदवारहरुले जम्मा १ करोड १४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने आयोगले जनाएको छ । यदि उक्त जरिवाना नतिरेमा निर्वाचित जनप्रतिनिधिले चैत १ बाट पद गुमाउनुपर्नेछ भने आगामी ६ वर्षका लागि कुनै पनि निर्वाचनमा सहभागी हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

उक्त निर्वाचनमा अध्यक्ष पदका मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले शुन्य मत ल्याएका थिए ।

सूचीः