निजी क्षेत्रको साझा उम्मेदवार हुँ, मेरो जित सुनिश्चित छ – ढकाल



नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचनको दिन जति नजिकिँदै छ, त्यति नै चुनावी सरगर्मी बढ्दो छ । कोरोना महामारीले चुनाव प्रचार–प्रसारको शैली नै परिवर्तन गरिदिएको छ । उम्मेदवारहरूको अहिले मतदाताहरूसंग प्रत्यक्ष रूपमा भेटघाट गर्नुभन्दा पनि फोनबाटै कुराकानी गरिरहेका छन् । अहिले महासंघको वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिएका छन् । महासंघमा दुई पटक कार्यकारिणी समितिको सदस्य र उपाध्यक्ष भएका ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । बैंकिङ, रेमिट्यान्स, अटोमोबाइल, जलविद्युत र केवलकारलगायत क्षेत्रमा आफ्नो लगानी विविधिकरण गरेका ढकाल आईएमई ग्रुपका अध्यक्ष पनि हुन् । महासंघको निर्वाचन, भावी रणनीति र कोरोना महामारीले संकटग्रस्त बनाएको अर्थतन्त्र उकास्ने विषयमा केन्द्रित रहेर उपाध्यक्ष ढकालसँग गरिएको कुराकानीको सारसंक्षेप:

– कोभिड महामारीबीच नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न पदका लागि निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षका लागि यहाँको तयारी कस्तो छ ?

– चुनावी प्रचार–प्रसार भनेर खासै केही गतिविधि छैनन् । कोभिडको लकडाउन अघि नै हामीहरू प्रायः सबै जिल्लामा पुगेका थियौं । वास्तवमा त्यो पनि चुनावी प्रचार–प्रसारका लागि भन्दा पनि हाम्रो आफ्नो व्यावसायिक कामकै सिलसिलामा नै थियो । चुनावको प्रसंग आउनुभन्दा पहिलेदेखि नै हामीहरू धेरै जिल्लामा पुगेका छौं ।

जिल्लारनगरका व्यवसायी साथीहरूसँग भेट्ने, त्यहाँका ‘ईस्यूहरू’ बुझ्ने र त्यसको समाधानका लागि पहल गर्ने कुराहरू भई नै रहन्थे । यो चुनावका लागि विल्कुल होइन । चुनावकै लागि भनेर प्रचार–प्रसारमा हामीहरू यो कोभिड अगाडि पनि त्यति लागेनौं र अहिले पनि लागेका छैनौं । व्यावसायिक सिलसिलामै धेरै साथीहरूसँग सम्पर्क सम्बन्ध रहेको छ र यो निरन्तर रहनेछ । अहिले त जिल्लाका साथीहरूसँग टेलिफोनमा कुराकानी गर्ने बाहेक खासै केही गतिविधिहरू भएका छैनन् ।

पटकपटक स्थगित भएर अहिले पुनः मंसिर ११ देखि १३ गतेसम्मलाई साधारणसभा तथा निर्वाचनको मिति तोकिएको छ । बजारमा निर्वाचनका विषयमा चर्चा सुरु भइसकेको छ । यहाँ आफंै पनि व्यवसायीहरू बीचमा पपुलरहुनुहुन्छ । यहाँले जित्ने मुख्य आधारहरू केके हुन् ?

यसमा सबैभन्दा बलियो आधार भनेको व्यवसायी मित्रहरूसँगको मेरो सम्बन्ध नै हो । यो सम्बन्ध कुनै चुनावका लागि बनेको होइन । यो मेरो तीन दशक लामो आफ्नो व्यावसायिक यात्राका क्रममा बनेको सम्बन्ध हो र यो दिगो छ । 

मेरो आफ्नो व्यवसाय र व्यावसायिक ‘नेटवर्क’ हरेक जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । हरेक जिल्ला तथा नगरसम्म मेरो व्यावसायिक सञ्जाल छ । हाम्रो व्यवसायमार्फत हरेक जिल्लाका व्यवसायी साथीहरूसँग जोडिएका छौं । यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले मेरो सबै जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो सम्बन्ध छ ।

सधैं उहाँहरूसँगै रहने हुनाले मैले जिल्लास्तरमा व्यवसायीहरूले भोग्ने समस्या तथा चुनौतीहरू बुझेको छु । अर्को कुरा, म सानो व्यवसाय सुरु गरेर अहिलेको आईएमई ग्रुपको अवस्थामा पुगेकाले मलाई सानादेखि ठूला व्यवसायीका समस्याको अवगत छ । यो नै मेरो चुनाव जित्ने मुख्य आधार हो । 

यसका साथै मैले महासंघको नेतृत्व तहमा रहेर विगतमा खेलेको भूमिका तथा मेरो व्यक्तिगत आचरण र व्यवहारको पनि कुरा आउँछ । म सधैं व्यवसायीको हक, हित र अधिकारका पक्षमा लाग्ने गरेको छु । संक्षेपमा भन्नुपर्दा हरेक जिल्लामा फैलिएको मेरो आफ्नो व्यावसायिक नेटवर्क, महासंघको नेतृत्व तहमा रहेर मैले खेलेको भूमिका र व्यवसायी साथीहरूसँगको मेरो सुमधुर सम्बन्ध नै मेरो जितको प्रमुख आधार हो । 

त्यसो भए चुनाव जितिन्छ भनेर यहाँ ढुक्क हुनुहुन्छ ?

हाम्रो व्यावसायिक नेटवर्क ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । रेमिट्यान्स, बैंक, इन्स्योरेन्स, पर्यटन, सूचनाप्रविधि, ऊर्जा र मोटर्सलगायत धेरै क्षेत्रमार्फत जिल्ला नगरका व्यवसायी साथीहरूसँग हामी जोडिएका छौं । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले सबै जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ । यसले मेरो जितलाई सुनिश्चत गरिसकेको छ । 

हेर्नुस्, म उपाध्यक्ष भएदेखि नै महासंघकै काम र कार्यक्रमहरूमा नेपालभर निरन्तर पुगेको छु । प्रदेश, जिल्लारनगर तथा वस्तुगत संघका साथीहरूले मलाई नै विशेष आग्रह गरेर बोलाउने गर्नुभएको छ । अधिवेशन, साधारणसभा हुन् वा ठाउँ–ठाउँमा भए गरेका महोत्सव वा अन्य कार्यक्रमहरू, उहाँहरूले बोलाउनुभएको ठाउँमा मिलेसम्म र भ्याएसम्म म पुगेको छु ।

उहाँहरूले आफ्ना समस्या, गुनासा र अप्ठेराहरू राख्नुभएको छ । उहाँहरूका सुख र दुःखका धेरै कुरा मैले सुनेको छु र सकेसम्म समाधानमा लागि परेको पनि छु । जुन कुरा साथीहरूले मनन पनि गर्नुभएको छ । यही नै मेरो जितको मुख्य आधार हो । म ढुक्क छु । त्यस्तै, म अहिले एसोसिएट उपाध्यक्ष हो । मेरो महासंघको यात्रालाई हेर्ने हो भने म कि त सर्वसम्मत रूपमा आएको छु कि अत्याधिक बहुमतले विजयी भएको छु । 

यस हिसाबले एसोसिएटमा म सबैभन्दा बलियो उम्मेदवार हुँ । जिल्लारनगरको कुरा गर्दा सबै जिल्लामा मेरो व्यावसायिक नेटवर्क छ । सबै उद्योग वाणिज्य संघका साथीहरूसँग व्यक्तिगत सम्पर्क र सम्बन्ध छ । अझ भन्ने हो भने धेरै जिल्ला नगरका साथीहरू हाम्रा व्यावसायिक साझेदार नै हुनुहुन्छ । म के भन्छु भने अहिलेसम्मकै महासंघको इतिहासमा जिल्लारनगरका धेरैभन्दा धेरै साथीहरूले रुचाएको र अपेक्षा गरेको उम्मेदवार हुँ । र, वस्तुगतको कुरा गर्दा हाम्रो व्यवसाय धेरै सेक्टरमा रहेको छ । धेरै वस्तुगतका अध्यक्षज्यूहरूले मलाई नै समर्थन र सहयोग गर्नुभएको छ । यसले गर्दा समग्रमा भन्नुपर्दा मलाई त मेरो कुनै प्रतिस्पर्धा नै छैन भन्ने लाग्छ । मेरो जित सुनिश्चित भइसकेको छ । 

वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत सहमतिको संभावना कतिको छ

म त सदैव सहमति र सहकार्य कै पक्षपाती हो । महासंघकै मेरो इतिहासलाई हेर्ने हो भने पनि दुई पटक कार्यसमिति सदस्य र एक पटक उपाध्यक्षमा सर्वसम्मत भएर आएको छु कि त सबैभन्दा बढी मतले विजयी भएको छु । म उपाध्यक्ष हुँदा पनि म सर्वसम्मत नै भएको हुँ । त्यसैले म त झन सहमति कै पक्षमा हो । र, सहमतिको सम्भावना त अन्तिमसम्म नै रहन्छ । मेरो विगतदेखिको इतिहास र महासंघभित्र प्रवेशलाई हेर्नुभयो भने पनि यो प्रष्ट हुन्छ । मलाई विश्वास छ यो पटक पनि इतिहास दोहोरिन्छ । म सर्वसम्मत नै वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनेछ ।

वरिष्ठ उपाध्यक्ष भएपछि सुधार गर्ने यहाँका योजनाहरू केकस्ता छन्

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो ‘इन्जिन’ हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी वृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ । 
छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योगग्राम, विशेष आर्थिक क्षेत्र मात्रै होइन त्यहाँ पुग्ने सडक, विद्युत् लगायतका दिगो पूर्वाधार चाहिएको छ । नवउद्यमीदेखि सानारठूला उद्योगी र व्यापारीसम्मलाई ऋण मात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ । विविध खालका दुविधा भएका कर कानुनहरूलाई सुधार गर्नुपर्नेछ । 

यी काम गर्न महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र ‘डायनामिक’ बनाउनुपर्नेछ । त्यसैगरी महासंघले राज्यका निकायसँग ‘पोलिसी डाइलग’लाई अझै बढाउनुपर्ने छ । देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्नुपर्नेछ । निजी क्षेत्रमैत्री नीति निर्माणका लागि पैरवी गर्न, हाम्रो विश्वासलाई यथार्थमा बदल्न, उद्योग र व्यापारमा उत्साहित साथीलाई प्रोत्साहित गर्न, उहाँहरूका समस्यालाई सुल्झाउन, व्यवसायीहरूका मुद्दालाई सम्बन्धित सबै निकायमा जोडसँग उठाउन मेरो साथ रहन्छ । 

साथै, महासंघलाई ठूला उद्यमीहरूको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रूपमा स्थापित गर्न र सबैका समस्याको सुनुवाइ हुने वातावरण बनाउन धेरै काम गर्नुपर्नेछ । कुनै पनि संस्था वा संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो । मेरो नेतृत्वमा आगामी दिनमा हामी व्यवसायीहरूको छाता संस्थाको नेतृत्वमा रहेर हाम्रा समग्र सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरूको आशा र भरोसाको सम्बाहक बनेर काम गर्नेछु भन्ने प्रतिबद्धता म यहाँ व्यक्त गर्छु । मैले समग्र व्यवसायीहरूको मनोबल सधैं उँचो बनाउने काममा लाग्ने र उहाँहरूको सुख–दुःखको साथमा रहने प्रण गर्छु । 

कोरोना महामारीले मुलुकको अर्थतन्त्रलाई ठूलो असर गरेको छ । अर्थतन्त्र उकास्नका लागि यहाँको के कस्तो योगदान रहनेछ

आज हामी अत्यन्तै कठिन मोडमा छौं । यतिखेर हामी उद्योगी, व्यवसायीहरूलाई एउटा अकल्पनीय समस्याले थिचेको छ । यसबाट देशको अर्थतन्त्र नै नराम्ररी प्रभावित भएको छ । अहिले नै कुन क्षेत्रमा कति क्षति पुगेको छ भन्ने विवरण नआए पनि हामी इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्थामा रहेको कुरा हामी सबैले अनुमान गर्न सक्छौं ।  

अझै पनि यो महामारीले कुन रूप लिने हो भन्ने स्पष्ट नभइसकेकाले आगामी दिनमा हाम्रो नेतृत्वको महासंघका सामु यो समस्यासँग जुध्नुपर्ने अर्काे ठूलो तथा अत्यन्तै संवेदनशील दायित्व पनि थपिएको छ । महामारीमा ज्यान जोगाउनुपर्ने त छँदैछ त्यसका अतिरिक्त आफ्नो व्यवसायलाई पनि बचाउनुपर्ने दायित्वमा हामी छौं ।  

महामारीको अहिलेको बेलामा ज्यान जोगाउने र भोलि महामारीपछि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने छ । त्यसैले अहिलेको परिस्थितिले हाम्रा सामु ठूलो चुनौती थपिदिएको महसुस मैले गरेको छु । नेतृत्व भनेको संकटको सारथी हो, दुःखको बेला सम्झिइने आडभरोसाको केन्द्र हो भन्ने मलाई लाग्छ ।

त्यसैले प्रकृतिले थपिदिएको यो चुनौती र अरू विविध खाले सम्भाव्य नियतीहरूसँग पनि हामी जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा लाग्नुपर्नेछ । त्यसका लागि पनि हामी निजी क्षेत्रले राज्यसँग सहकार्य गर्नुपर्ने अवस्था छ । अहिलेको यो त्रासलाई हटाएर हालका लागि व्यवसाय बचाइराख्ने र भोलि त्यसमा प्राण भर्ने सम्मको कार्यमा हामीले काम गर्नुपर्नेछ । 

महासंघमा चुनाव गराउने र नगराउने बीचमा विवाद देखियो । किन यस्तो अवस्था आएको हो

गत वर्षको चैतमै सम्पन्न गरिसक्नुपर्ने साधारणसभा गर्न नसकेपछि हामीले जेठमा सार्यौं र जेठमा पनि अनुकूल नभएपछि साउन २६ र २७ का लागि तय भयो । त्यतिबेला साउनमा तोकिएको साधारणसभा तथा निर्वाचनलाई स्थगित गर्दा प्रक्रियागत रूपमा मिलेन भनेर हामीले आवाज उठाएका थियौं । एउटा कुरा हामीले कार्यकारिणी समितिले तय गरेको साधारणसभा र निर्वाचन कार्यकारिणी समिति मै छलफल तथा निर्णय गरेर मात्र स्थगित गर्ने निर्णय गरौं भनेका थियौं ।

यो पदाधिकारीको बैठकबाट गर्दा कार्यकारिणी समितिको अधिकार हनन हुन्छ भनेका थियौं भने अर्को कुरा हामीले साधारणसभा तथा निर्वाचन सम्पन्न गर्नका लागि सरकारसँग अनुमतिका लागि पत्र लेखेर पठाएका थियौं । सरकारको जवाफ नआउँदै यसरी निर्णय नगरौं मात्र भनेको हो । र, सँगसँगै हामीसँग कार्यसमितिमा लगेर छलफल गरेर स्थगित गर्न सकिने प्रसस्त समय पनि थियो ।

अधिकांश पूर्वअध्यक्षहरूले यहाँको प्रतिस्पर्धी उम्मेदवारलाई समर्थन गर्नुभएको भन्ने कुरा आएको छ । यसलाई यहाँले कसरी हेर्नुभएको छ ?

मलाई त त्यस्तो लाग्दैन । मैले उहाँहरूका औपचारिक कार्यक्रमहरू कतै पनि तपाईंले भने जस्तो सबै पूर्वअध्यक्षज्यूहरूलाई देखेको छैन । उम्मेदवारी घोषणाको कार्यक्रम होस् वा उम्मेदवारी दर्ता कुनै कार्यक्रममा पनि सबै उपस्थित भएको मलाई थाहा छैन । तपाईंले कुनै अमूक व्यक्तिले कुनै अमूक कार्यक्रममा खिचेको तस्बिर सामाजिक सञ्जालमा राखेर मलाई सबै पूर्वअध्यक्षको समर्थन छ भनेको आधारमा त्यस्तो सोच्नुभएको होला । म पनि सबैजसो पूर्वअध्यक्षज्यूहरूसँग सम्पर्कमै छु । उहाँहरूले मलाई पनि समर्थन गर्छु भन्नुभएको छ । मलाई विश्वास छ उहाँहरूको साथ, समर्थन र सहयोग मलाई रहने छ । यो कुराको जवाफ समयले पनि दिनेछ । 

अन्त्यमा, यहाँले आजसम्म जुनजुन सेक्टरमा हात हाल्नुभएको छ । सफलता हासिल गर्नुभएको छ । यसपटक महासंघको वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहनुभएको छ । कर्पोरेट क्षेत्रबाट सहयोग पाउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

मलाई लाग्छ म सम्पूर्ण निजी क्षेत्रको साझा प्रतिनिधिका रूपमा उम्मेदवार हुँ । किनभने मलाई सानो व्यवसाय सञ्चालन गर्नेदेखि कर्पोरेट व्यवसायसम्म सञ्चालनको अनुभव छ । जिल्ला÷नगरका साना व्यवसायदेखि, वस्तुगत तथा कर्पोरेट ‘लेबल’का ‘ईस्यूहरू’, प्रत्यक्ष वैदेशिक लगानीलाई ‘प्रमोसन’ गर्ने कुरादेखि लिएर निजी क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक पर्ने सबै विषयवस्तुसँग परिचित भएको र ती ईस्यूहरू समाधानका लागि पहल गर्न सक्ने हुनाले मलाई लाग्छ म अवश्य पनि सफलता हासिल गर्नेछु । 

साभारः लाइभपाटीडटकम