खानेपानी मन्त्रालयले एउटै आयोजनाबाट दर्जन बढी सवारी लगेपछि…

मन्त्री र सचिवको सवारीमोहले आयोजना नै प्रभावित



काठमाडौं । मेलम्चीको पानी वितरण गर्नको लागि पानी प्रशोधन केन्द्र सुन्दरीजलदेखि उपत्यकाका तीन जिल्लाका हरेक घरको धारासम्म पाईप विछ्याउने जिम्मेवारी पाएको एउटा आयोजना तालुकदार अड्डा खानेपानी मन्त्री र मन्त्रालयका उच्च अधिकारीको सवारी मोहकै कारण प्रभावित बनेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का इञ्जिनियर, ओभरसियर र स्थलगत रुपमा खटिनु पर्ने कर्मचारीले प्रयोग गर्दै गरेका सवारी मन्त्री र मन्त्रालयका कर्मचारीले तानेपछि आयोजना नै प्रभावित हुन थालेको हो ।

राजनीतिक हस्तक्षेपबाट थिलथिलो भएको केयूकेएलमा कर्मचारीको गैरजिम्मेवार कार्यले उपत्यकामा अत्यधिक पानी चुहावट नियन्त्र हुन नसक्दा उपत्यकाबासीको धारामा झर्नुपर्ने पानी यतिवेला सडक र गल्लीमा भेल बनेर चुहिने गरेको छ । खानेपानीको पाईपलाईन विस्तारको जिम्मेवारी पाएको पीआईडीका जिम्मेवारी कर्मचारीका कारण आयोजनाको सवारीसाधनहरु दुरुपयोग हुने गरेको स्रोतले जनायो ।

खानेपानी मन्त्री उमाकान्त चौधरीलाई गृह मन्त्रालय र आफ्नो मन्त्रालयले २ वटा सवारी उपलब्ध गराएको छ । तर, त्यतिले नपुगेर उनले पीआईडीबाट ९ वटा सवारी साधन मागेर प्रयोग गरिरहेका छन् ।

स्रोतका अनुसार मन्त्री चौधरीले एउटा सरकारी सवारीसहित ४ वटा गाडी प्रयोग गर्न थालेको ६ महिना भइसकेको छ भने थप २ वटा सवारी एक महिनादेखि फेरि तानेका छन् । उनले निवासको लागि भन्दै दुई वटा स्कुटीसमेत लिएका छन् ।

मन्त्रीले सचिवालयमा चाहियो भन्दै बागमती अञ्चलमा दर्ता भएका ११, १७ र १९ लटका नयाँ सवारी लगेका छन् भने दुई वटा स्कुटी पनि प्रयोग गर्दै आएका छन् । एउटा पीकअप र अर्को जीप केही दिनको लागि भनेर एक महिनादेखि बेपत्ता बनाएका कर्मचारीहरुको आरोप छ ।

मन्त्रीको सचिवालयका लागि भनेर लगिएका सवारी साधन ७ वटा छन्, जवकी मन्त्रीलाई सरकारले नै सवारीको लागि भनेर बेग्लै सवारी साधन उपलब्ध गराउँछ ।

खानेपानी सचिव र प्रशासन महाशाखाका सहसचिवले समेत पीआईडीकै सवारी साधन प्रयोग गर्ने गरेका छन् । सचिव मणीराम गेलालले बा.१७ च ३६५१ नम्वरको सवारी चढ्दै आएका छन् । यसअघिका सचिव सुरेश आचार्य र तीन महिनाअघि सचिव भएकी प्रमिलादेवी शाक्य बज्राचार्यले समेत सोही सवारी प्रयोग गरेकी थिइन् ।

प्रशासन महाशाखा प्रमुख सहसचिव ज्ञानप्रसाद ढकालले समेत आयोजनाको बा ११ च ५१९० नम्वरको गाडी प्रयोग गर्दै आएका छन् । मन्त्रालयका स्टोरकिपर दिपेन्द्र केसीले भने बा ११ च ५१९० नम्वरको गाडी लगेका छन् ।