गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भेट गरेका छन् ।

गृह मन्त्रालयमा बुधबार बिहान भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी थिए ।

वार्तामा यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

सरकारका तर्फबाट गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनपूर्व  केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरुप प्रक्रिया अगाडि बढेको जानकारी दिएका थिए ।

‘स्थानीय तहको निर्वाचनपूर्व  केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरुप प्रक्रिया अगाडि बढेको छ,’ प्रवक्ता पोखरेलले वार्तामा भएको कुराकानीबारे भने, ‘टुंग्याउनका लागि महान्यायाधीवक्ताको कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र सम्वन्धित पक्षबीच समन्यय भइरहेको छ ।’

बैठकमा प्रवक्ता विश्वकर्माले कैदी बन्दी रिहा गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर जिज्ञासा राखेका थिए ।

अर्को बैठक सम्वन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरूको समेत सहभागितामा छिटै बस्ने सहमति बनेको छ । समय एकीन नभएको र सबैलाई अनुकुल निकालेर समय निर्धारण गरिने प्रवक्ता पोखरेलले बताए ।