‘अब फोहोर उठ्नेछ’



काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले अबदेखि काठमाडौंको फोहोर उठ्ने बताएका छन् । काठमाडौं महानगरको मेयरका लागि उम्मेदवारी घोषणा गरेदेखि नै फोहोर व्यवस्थापनका लागि प्रमुख मुद्दाका रुपमा उठाएका शाहले स्वतन्त्रबाट जित मेयरमा विजयी भएसँगै फोहोर व्यवस्थापनलाई पहिला प्राथमिकता दिएका छन् ।

महानगरको फोहोर व्यवस्थापनका लागि पटकपटक राजनीतिक दलका नेतृत्व र सरोकारवाला पक्षहरुसँग छलफल गर्दै आएका नगरप्रमुख बालेनकै पहलमा सोमबार फोहोर फाल्न दिनेगरी सम्झौता भएको थियो । तर, सम्बन्धित क्षेत्रका जनप्रतिनिधि, मन्त्रालय र महानगरबीचको सहमतिलाई केही स्थानीय तहले व्यवधान खडा गरेपछि अहिले फोहोर लगेर गएका सवारीसाधनहरु बाटैमा अलपत्र परेको जनाइएको छ ।

बालेनले फोहोर व्यवस्थापनका लागि सहमति भइसकेपछि अब खुशी व्यक्त गर्दै महानगरबासीलाई फोहोर व्यवस्थापन घरबाट नै गर्नका लागि अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत अनुरोध गर्दै समस्या समाधानका लागि महानगरबासीको साथ चाहिने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब फोहोर उठ्नेछ ।’ यो सबैको लागि निसन्देह: खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिदा र अफ्ठ्यारोमा पारिरहदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।

तर फोहोर उठ्नु मात्रै यसको समाधान होइन । अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ । हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुदैन ।

समाधान तपाईहरुको साथबिना सम्भव हुदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन । अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।

महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु दोहोर्याउने छैन । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुन: एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ ।

यो सूचना चाँडो भन्दा चाँडो फैलाउनका लागि आफ्नो परिवार, आफन्त र साथीहरुसँग यसबारेमा कुरा गर्नुहोला । हामी सबै एकै भएर फोहोर विरुद्धको मोर्चामा बनाऔँ ।