पाचौँ पटक प्रधानमन्त्री बन्दै शेरबहादुर देउवा : को हुन् उनी ?



काठमाडौं । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको देउवा पक्षमा फैसला सुनाएसँगै देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्।

प्रतिनिधिसभाका १४६ जना सांसदले हस्ताक्षरसहित देउवालाई प्रधानमन्‍त्री नियुक्तिका लागि परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। देउवा पक्षमा बहुमत देखिएकोले देउवालाई प्रधानमन्‍त्री नियुक्त गर्न अदालतले आदेश दिएको हो। अब संविधानको धारा ७६ (५)  अनुसार देउवा प्रधानमन्‍त्रीमा नियुक्त हुनेछन्।

सर्वोच्चले देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ। अदालतले पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन आजका मितिले ७ (सात) दिनभित्र (अर्थात २०७८ साल श्रावण ३ गते आइतबार अपरान्ह ५ बजेभित्री प्रारम्भ हुने गरी नेपालको संविधान बमोजिम अधिवेशन आह्वान गरी नियमित रुपमा बैठक बस्ने व्यवस्था तत्काल मिलाउन परमादेश जारी गरेको छ।

को हुन् उनी ?

शेरबहादुर देउवा वि.स‌. २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन्। उनले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका थिए। उनले स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई अगाल्न थालिसकेका थिए।

एलएसली दिएपछि देउवाले उच्च शिक्षाको लागि भारत नगइ वि.स‌‍. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भए। यसपछि उनी नेविसंघभित्र राजनीतिमा सक्रिय भए। यसक्रममा उनले विभिन्‍न समयमा पटक पटक पक्राउ परे।

नेविसंघमा सक्रिय भएर काम गरिरहनु भएका देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए। नेविसंघको नेतृत्वमा आएपछि उनले आफ्नो राजनीतिकलाई जन सशक्त रुपमा अगाडि बढाए।

विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनु भएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्‍मेवारी दिएर खटाएका थिए। त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुगेका थिए।

जब वि‌‌.सं. २०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाइ गर्‍यो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्‍ययन गरिरहेका थिए। यसपछि २०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं ओर्लिए।

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बने। गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बने। राजनीतिको धेरै उतार चढाव खेप्‍नु भएका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले किशुनजी र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाउनु भएको थियो। कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिए। २०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्‍मेदवारी दिनुभएको थियो तर हार व्‍यहोर्नुपर्‍यो।

त्‍यतिबेला देशमा माओवादी जनयुद्धले पक्कड जमाइ सकेको थियो। कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गउको थियो भने एमालेले ५७ दिनसम्मको संसद घेराउ गरेको थियो जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असार राजिनामा दिएका थिए। यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उनी पुन: कांग्रेस संसदीय दलको उम्मेदवार बने। सुशील कोइरालालाई हराएर नेता बने। संसदमा पार्टीको बहुमत भएकाले उनी दोस्रोपटक प्रधानमन्त्री भए।

राजनीतिक घटनासँगसँगै विंस‌ २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले ‘शाही कू’ मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए। त्‍यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारीमा थिए। संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद पुन: एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आए। यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किए।

नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि‌.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भएका हुन्।

कांग्रेसको इतिहास : देउवा जित्दा पार्टी हार्छ
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा जन्मिएका शेरबहादुर देउवा ७० काटेपछि मात्रै नेपाली कांग्रेसको सभापति भए। तर उनै देउवालाई नेपालको सबैभन्दा ठूलो कार्यकारी पद प्रधानमन्त्रीमा पुग्न भने भने ५० वर्ष पनि कुर्नुपरेन।

बहुदल आगमनपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनबाट बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री जस्तो शक्तिशाली पद पाएपछि देउवाको सत्ता यात्रा त्यहीँबाट सुरु भयो।

बिहे गरेपछि शक्तितिर

गृहमन्त्री हुँदा देउवाले विवाह समेत गरेका थिएनन्। उनले ४५ वर्षको उमेरमा राणा खानदानकी आरजु राणासँग विवाह गरे। त्यसपछि उनको निकटता दरबारसँग समेत भयो। गृहमन्त्रीको शक्तिले उनलाई दरबारसँग निकट हुन झनै सहयोग गर्‍यो।

देउवानिकट पुराना एक नेता भन्छन्,‘बिहे गरेपछि देउवा व्यक्तिवादी र स्वार्थी भए। उनले आफूलाई डा. हरुले मलाई बिगारेको बताउँथे।’

कोइराला ढलेपछि देउवाको उदय

वि.सं. २०५१ सालमा कांग्रेसकै दुई सांसदले असहयोग गरेपछि कोइराला नेतृत्वको सरकार ढल्यो। कोइरालाले त्यसपछि मध्यावधि निर्वाचन घोषणा गरे। देउवासमेत गृहमन्त्री रहेका बेला भएको मध्यावधि निर्वाचनमा कांग्रेसलाई एमालेले उछिन्यो।

२०४८ सालमा ११० सिट जितेको कांग्रेस २०५१ सालको मध्यावधि निर्वाचन ८३ सिटमा खुम्चियो। ८८ सिट जितेर एमाले पहिलो पार्टी बन्यो। त्यहीबेला कांग्रेसले पहिलो झट् बेर्होनु पर्‍यो, त्यो पनि देउवा गृहमन्त्री भएका बेला। त्यो बेलासम्म कांग्रेसमा गिरिजाप्रसाद सर्वशक्तिमान थिए। तर कांग्रेस हारेको चुनावपछी कोइराला विकल्पमा आफूलाई उभ्याउँदै देउवा संसदीय दलको नेता बन्न सफल भए।

एमाले सरकारमा

२०५१ सालको निर्वाचनमा ठूलो पार्टी बनेको एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए। तर त्यो सरकारलाई ९ महिना भन्दा बढी टिक्न दिइएन। ९ महिना टिकेको त्यो सरकार सामाजिक सुरक्षा कार्यक्रम थालेर एमालेलाई स्थापित गराउन सफल भए। अधिकारी सरकार ढालेपछि कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्री भए।

पञ्चको साथ

पञ्चायत सर्मथक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत समावेस गरेर उनले ५२ जनाको जम्बो मन्त्रिपरिषद् बनाए। त्यसपछि देउवा निरन्तर शक्तिशाली बन्दै गए। पञ्चहरुलाई सरकारमा सहभागी बनाएको भन्दै कांग्रेसको आलोचना सुरु भयो।

देउवाको प्रधानमन्त्रीत्व कालमा पञ्चलाई सरकारमा ल्याउनेदेखि सुरासुन्दरी, रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता संसदीय विकृति जन्मिए। यी सबै विकृतिको शिकार बन्यो नेपाली कांग्रेस। काण्डैकाण्डले कांग्रेस विरामी भइरहँदा देउवा भने निरन्तर उकालो चढ्दै गए।

देउवा उक्लिँदा कांग्रेस झन् ओरालो

२०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेस कहालीलाग्दो अवस्थामा पुग्यो। ७० प्रतिशत स्थानीय निर्वाचनमा एमालेले जित्यो। कांग्रेस २५ प्रतिशतमा सीमित हुन पुग्यो।

२०५१ को मध्यावधि र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नराम्रो पराजय भोगेपछि तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने घोषणा गरे। त्यहीबेला एमाले विभाजित भएको थियो।

एमालेको विभाजन र भट्टराईलाई प्रधानमन्त्री बनाउने घोषणापछि कांग्रेसले सुविधाजनक बहुमत ल्यायो। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए तर कोइरालाले त्यो सरकारलाई लामो समय टिक्न दिएनन्। भट्टराईलाई पाखा लगाएपछि फेरि गिरिजा प्रधानमन्त्री बने।

होलेरीकाण्ड देउवालाई नाफा

२०५८ सालमा रोल्पाको होलेरीमा भएको माओवादी आक्रमणमा तत्काली राजा ज्ञानेन्द्रले सेना परिचालन गर्न नमानेपछि कोइरालाले राजीनामा दिए। तर पुनः २०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री बनाए।

दोस्रो पटक प्रधानमन्त्री भएका देउवाले आफुलाई शक्तिशाली बनाउँदा पार्टी नै फुटाए। प्रधानमन्त्री बनेपछि २०५९ सालमा देउवाले कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाए अनि आफैँ बने नयाँ पार्टीको सभापति।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा असक्षमूको आरोप लगाई देउवा सरकारलाई विघटन गरे। तर उनै राजा ज्ञानेन्द्रले असक्षम घोषणित देउवालाई दुई वर्षपछि २०६१ सालमा पुनःप्रधानमन्त्री नियुक्त गरे। यो सँगै उनी तेस्रो पटक प्रधानमन्त्री बने। यसबेलासम्म कांग्रेसको हालत भने धेरै कमजोर भइसकेको थियो। राजाले शासन हातमा लिएपछि कांग्रेस करिब थला परेको थियो।

अनि मिले देउवा

२०६२/०६३ को आन्दोलनपछि पार्टीको कम्जोर अवस्थाका कारण देउवाले प्रजातिन्त्रक पार्टीलाई कांग्रेससँग एकीकरण गराए। एकीकरणपछि तत्कालिन सभापति कोइरालासँग ६०-४० को हैसियत बनाउन उनी सफल भए। पार्टी भित्र भने उनी गिरिजाको प्रमुख प्रतिपक्षको भुमिका रहिरहे।

गिरिजाप्रसाद कोइरालाको मृत्यु भएपछि उनको शक्ति झनै बढ्दै गयो। तर सुशील कोइराला उनको बाटोमा तगारो बने। गिरिजाका उत्तराधिकारीको भुमिका रहेका सुशीलसँग उनले हार भोग्नुपर्‍यो। कांग्रेसमा कोइराला परिवारको प्रभुत्व रहेका कारण देउवा २०६६ सालको कांग्रेसको १२ औँ महाधिवेशनमा पराजित भए।

सुशीलपछि एकछत्र राज

तथापि उनको बर्चश्व भने पार्टीमा बढ्दै गयो। पार्टीमा बलियो प्रतिपक्षका रुपमा देउवा देखिए। सुशील कोइरालाले पार्टीमा प्रभाव छाड्न नसकेपछि कोइराला परिवार परिवारसँग रिसाएकाहरुलाई उनले आफुतिर ताने। त्यसैबेला तत्कालीन सभापति सुशीलको निधन भयो, अनि कांग्रेसमा देउवाका दिन खुले।

२०७२ सालमा पार्टीको १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापतिमा निर्वाचित भए। २००३ सालमा असिग्राम-५ रुवाखोला जन्मिएका देउवा सबै भन्दा ठूलो पार्टी कांग्रेसको सभापति जस्तो सर्वोच्च भुमिका पुगे। सभापति हुनु पुर्व नै देउवाले पौडेललाई कांग्रेस संसदीय दलको नेतामा पराजित गरिसकेका थिए।

अनि बनाए जम्बो सरकार

२०७४ साल जेठमा देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भए। फेरि उनले ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद बनाए। जुन नेपालको इतिहासकै सबैभन्दा ठूलो मन्त्रिपरिषद हो, त्यसले उनको धेरै आलोचना भयो।

२०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका तीनै निर्वाचन देउवा आफैँले गराए। संविधान कार्यान्वयनका लागि तीनै निर्वाचित गराएर उनी सफल पनि भए।

तर निर्वाचनमा लज्जास्पद रुपमा कांग्रेस हार्‍यो। ७ प्रदेशमध्ये कुनैमा पनि कांग्रेसले प्रादेशिक सरकार बनाउन सकेन। १७५ सिटको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जित्यो। तर देउवाले भने अत्यधिक मतसहित डडेल्धुराबाट छैटौँ पटक चुनाव जिते। उनले २०४८,२०५१,२०५६,२०६४,२०७० र २०७४ सालका सबै चुनावमा विजयको झण्डा गाडे।

सर्वशक्तिमान देउवा

अहिले उनै देउवा पार्टीको सर्वशक्तिमान सभापति पदमा छन्। देउवा सत्ता र शक्तिको लागि जे सुकै गर्न तयार हुने नेता भएका उनकै निकटतस्थ बनाउँछन‍्। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको आवाज उठेका बेला कोइराला परिवारको समेत भोट लिएर देउवा फेरि संसदीय दलको नेता बनेका छन्। सत्ता र शक्ति प्राप्त गर्न जान्ने राजनीतिक खेलाडी हुन् देउवा। उनले जुनसुकै विधिबाट पनि सत्ता र शक्ति प्राप्त गर्न जानेका छन्। जिल्लास्तरका बलियो नेतालाई प्रलोभनमा पारेर आफ्नो पक्षमा ल्याउन माहिर नेता हुन् उनी।

देउवा फुल्छन्, कांग्रेस खुम्चिन्छ

नेतृत्वको असक्षमताका कारण कांग्रेसले चुनाव हारेको आरोप लागिरहेका बेला नेतृत्व गर्ने देउवा संसदीय दलको नेतामा भारी मतले विजयी हुनुलाई अर्थपूर्ण रुपमा हेर्छन् कांग्रेसकै नेताहरु। २०४८ यताका तथ्यलाई केलाउँदा कांग्रेस खुम्चिँदा देउवा भने फुल्ने गरेका छन्।

हरेक पटक कांग्रेस खुम्चँदा देउवा फुलेका छन्। उनी प्रधानमन्त्री र गृहमन्त्री भएर गराएका २०५१ सालको मध्यावधि र २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेस हारेको छ।

सांसदहरुमा विकृतिको वीजारोपण उनकै पालामा सुरु भएको आरोप अन्य दलले लगाइरहेका छन्। उनी प्रधानमन्त्री भएको बेला कांग्रेस पनि फुटाएका छन्। -अन्नपूर्ण पाेस्ट् दैनिक