

भोलीदेखि आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने

काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आइतबारदेखि आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो ।
क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार विमानस्थल कार्यालय र एयरलाइन्सबीच आजै बैठक बसेर उडान पूर्ण सञ्चालनको तालिका बनाइनेछ ।
वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गर्दै आएको थियो ।
यसअघि कोभिड–१९ महामारीको जोखिम कायम रहेकाले कोभिड अघिको जम्मा उडान सङ्ख्याको ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो ।
यही असार १७ देखि नियमित आन्तरिक उडान शुरु भएको थियो । मुलुकमा निषेधाज्ञा लागू भए पनि गत वैशाख २० देखि आन्तरिक उडान स्थगन गरिएको थियो । आन्तरिक उडानतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।