

एएफसी यू२३ च्याम्पियनसीप छनोटः नेपाल समूह ‘बी’ मा

काठमाडौं । एएफसी यू २३ च्याम्पियनसीप छनोटमा नेपाल समूह बी मा परेको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेष्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन् । समूह बी का खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । नेपालले पाँचौँ पटक यु–२३ छनोट प्रतियोगिता खेल्न लागेको हो । नेपाल हालसम्म छनोट चरण पार गर्न असफल भएको छ ।
एएफसी यू २३ च्याम्पियनसीप छनोट प्रतियोगिताका लागि २३ देशलाई ६ समूहमा विभाजन गरिएको छ ।
पाँच समूहमा चार चार तथा एउटा समूहमा तीन देश रहेका छन् । यस्तै इस्ट जोनमा रहेका १९ देशलाई पाँच समूहमा विभाजन गरिएको छ ।
छनोट चरणका खेल आगामी कात्तिक ६ देखि १४ गतेसम्म सञ्चालन हुनेछन् । एएफसी यू २३ च्याम्पियनसीप भने सन् २०२२ को जून महिनामा उज्वेकिस्तानमा आयोजना हुनेछ । उज्वेकिस्तान आयोजकको रुपमा सो प्रतियोगिताका लागि स्वतः छनोट भएको छ ।