

भारतमा आजदेखि कोरोनाविरुद्धको खोपको महाअभियान शुरु, सबै खर्च केन्द्र सरकारकाे

नयाँदिल्ली – भारतमा आजदेखि कोरोनाविरुद्धको खोपको महाअभियान शुरु भएको छ । यो अभियानमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क खोप दिइने भारत सरकारले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई निःशुल्क खोप लगाउन अभियान थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ नीति अनुसार यो खोप अभियानको सबै खर्च केन्द्र सरकारले ब्यहोर्ने छ । निजी अस्पतालले भने कोरोना विरुद्धको खोपका लागि तोकिएको शुल्क तिर्नु पर्नेछ । खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्ने छ र विभिन्न राज्यमा निःशुल्क वितरण गरिने छ । भारतले यही वर्षभित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । यो उमेर समूहमा ९० देखि ९५ लाख व्यक्ति रहेका छन् । अहिले हरेक दिन औसतमा ३० लाख नागरिकले खोप पाउने गरेका छन् ।
यस हिसाबले यो जुन महिनासम्ममा ३० करोड नागरिकले खोप पाउने छन् । त्यसपछि लक्ष्य पूरा गर्न बाँकी रहेको ६ महिनामा १५० देखि १६० करोड डोज खोप लगाउनु पर्ने हुन्छ । यसका लागि हरेक दिन औसतमा ८० देखि ९० लाख डोज लगाउने पर्ने खबरमा उल्लेख गरिएको छ । आउँदो जुलाई अन्त्यसम्ममा भारतले हरेक दिन एक करोड डोज लगाउने लक्ष्य राखेको छ । एजेन्सी