

वाग्मतीमा स्वच्छ पानी बगाउन नागमती बाँध निर्माण गरिने

काठमाडौं – वाग्मतीको उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ ।
यसअघि हिउँदमा पनि वाग्मती जलप्रवाह बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थलमा बाँध निर्माण अन्तिम चरणमा पुगेको छ । नागमती बाँध पनि तयार भएपछि नदीमा स्वच्छ पानी बगाउन सकिने विश्वास गरिएको छ ।
यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार जारी गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । काठमाडौं उपत्यकाका वाग्मती, रुद्रमती, विष्णुमतीलगायतका नदी सफा बनाउका लागि रु तीन अर्ब ४७ करोड बजेट विनियोजन भएको छ ।