

कोरोना संक्रमण २५ गुणाले फैलिएपछि दिल्लीमा ‘सप्ताहन्त कर्फ्यू’ घोषणा

नयाँदिल्ली – कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले ‘सप्ताहन्त कर्फ्यू’ लगाउने घोषणा गरेको छ । सप्ताहान्त कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । ५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि केजरीवालले यो निर्णय लिएका हुन् ।
११ मार्चदेखि १७ मार्चसम्म यहाँ २९९५ संक्रमित फेला परेका थिए । ८ अप्रिलदेखि १४ अप्रिलमा यो संख्या बढेर ७६ हजार ८७० पुगेको थियो । यो सिजन विवाहको सिजन भएकाले विवाह समारोहमा सहभागी हुनका लागि ई–पासको व्यवस्था गरिने भएको छ ।
नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ ।
बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए । यही अवधिमा ९ हजार ९५२ जना निको भएका छन् भने १०४ जनाको मृत्यु भएको छ । अहिलेसम्म दिल्लीमा ७ लाख ६७ हजार संक्रमित बनेका छन् । यसमध्ये ७ लाख ५ हजार निको भएका छन् भने ११ हजार ५४० जनाको मृत्यु भएको छ ।