

वर्षको अन्तिम दिन सेयर बजार नयाँ उचाइमा

काठमाडौं – २०७७ सालको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेले २७ सय अंक पार गरेर नयाँ रेकर्ड बनाएको छ। आज नेप्से वर्षकाे हालसम्मकै उच्च अंकले उकालो लागेकोे छ । मंगलबार ०.८६ प्रतिशत अर्थात २३.२३ अंकले बढेर २७ सय १४ दशमलव ७९ विन्दुमा पुगेको हो।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ५.९९ अंकले बढेर ४८६.२८ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज २०९ कम्पनीको ७६ हजार ०९४ पटक कारोबार भएर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर खरिद विक्रि भएको छ ।
समूहगत रुपमा हेर्दा बैंकिङ ४२, ब्यापार ६९, विकास बैंक ९५, जलविद्युत ३१ र फाइनान्स समूह ३ अंकले बढे। होटल तथा पर्यटन ६५, निर्जीवन बीमा ८८, उत्पादन २१, अन्य ७ माइक्रोफाइनान्स १४ र जीवन बीमा समूह ५१ अंकले घटेका छन्।
एनआइसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो। आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य १६९९ रुपैयाँ, माउन्टेनको ८३३, ज्योतिको ५१४, सिन्धुको २४६, छ्याङ्दीको २६९ रुपैयाँ कायम भएको छ।
कारोबारका आधारमा यस दिन नबिल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य १३४८ बाट बढेर १३८० रुपैयाँ पुगेको छ। नेपाल बैंकको २८ करोड बराबरको कारोबार हुँदा मूल्य ४४३ बाट बढेर ४५९ रुपैयाँ पुगेको छ। एनआइसी एसिया बैंक, निफ्रा, नेपाल बंगलादेश बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए। ती सबै कम्पनीको मूल्य बढेको छ।