

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

काठमाडाैं – सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका -१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन् ।
सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आइतबार आयोजित कार्यक्रममा उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उनी निर्वाचित भएकी थिइन् ।
सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो । निर्वाचन आयोगले उनि समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो ।
संसद्को पहिलो बैठकमा भाग लिनु अघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।