भारतमा भेटियाे कोरोना भाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट



नयाँदिल्ली – भारतमा कोरोना भाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ । भारमा संक्रमितबाट संकलन गरिएका नमूनामा नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको हो । यो नयाँ भेरियन्टमा दुईवटा म्युटेसन भएका भेरियन्ट एकै ठाउँमा आएका छन् ।

भारतका १९ राज्यमा संकलन गरिएका १० हजार ७८७ नमूनामा ७७१ जनामा ७३६ जनामा बेलायत, ३४ जनामा दक्षिण अफ्रिका र एक जनामा ब्राजिलको भेरियन्ट पनि फेला परेको छ । स्वास्थ्य अधिकारीहरुले नयाँ भेरियन्ट थप संक्रामक बनेको वा यसमाथि खोपले कति असर गर्छ भन्नेबारे अध्ययन गरिरहेका छन् । अधिकारीहरुले यही भेरियन्टकै कारणले मात्र भारतमा संक्रमितको संख्या नबढेको बताएका छन् । बुधबार भारतमा एकै दिन ४७ हजार २६२ जना संक्रमित फेला परेका थिए भने २७५ जनाले ज्यान गुमाएका थिए ।

यो संख्या एक वर्षयताकै उच्च हो । सरकारका अनुसार गत वर्षको डिसेम्बरको तुलनामा पश्चिम महाराष्ट्रमा संकलन गरिएका नमूनामा ई ४८४ क्यू र एल ४५२ आर म्युटेसनको संख्या बढी भएको पाइएको छ । यस्ता म्युटेसनले प्रायः मानिसको प्रतिराधात्मक क्षमतालाई छल्ने र संक्रामक बनाउने स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

भाइरोलोजिस्ट डा. शाहीद जमिलका अनुसार भारतमा ई ४८४ क्यू र एल ४५२ आर म्युटेसन मिलेर नयाँ भेरियन्टको विकास भइरहेको छ । यस्तो डबल म्युटेसन हुनु निकै डर लाग्दो अवस्था हो । तर, आश्चर्यजनक पनि होइन । किनभने भाइरसले जहिले पनि म्युटेट भएर आफ्नो स्वरुप परिवर्तन गरिरहेको हुन्छ । तर, के डबल म्युटेसनले भाइरसले काम गर्ने तरिकालाई परिवर्तन गर्छ ? यसले भाइरसलाई थप संक्रामक र खतरनाक बनाउँछ ? के अहिलेको खोपले यसविरुद्ध काम गर्छ ? भन्ने प्रश्नको उत्तर भने खोज्ने कुरा महत्वपूर्ण हुन्छ । बीबीसी