

एमाले जिल्ला सभापति ढकालले गरे पार्टी परित्याग, किन छाडे जनार्दनले एमाले ?

काठमाडौं । नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
शनिबार एक सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका हुन् ।
ढकालले पार्टीको समस्याबारे पार्टी केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधनमा चासो नदेखाएपछि पार्टीबाट अलग हुनुपरेको प्रस्टीकरण दिएका छन् । ढकाल २०७० को संविधान सभा सदस्य समेत हुन् ।
ढकालले पार्टी बैठकहरूमा आफूमाथि पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको पनि गुनासो गरेका छन् ।
‘पार्टी अध्यक्षलाई घेराबन्दी गर्ने, काम गर्न नदिने र गरेका कामहरूलाई जस नदिने प्रवृत्ति जन्मियो, यसबारे केन्द्रका महासचिव र प्रदेश इन्चार्जलाई पनि भनियो, तर समस्या समाधानमा चासो भएन’, ढकालले भनेका छन्, ‘रसुवामा जराकेन्द्रित अभियान रोकिएको छ । किन रोकियो भनेर पनि मैले भनेको छु ।’