नेपालको पशु चिकित्सा र कृषिमा हिकास्टको अतुलनीय योगदानः महानिर्देशक दाहाल
काठमाडौं । कृषि र पशु बिज्ञान अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साईसेन्ज एण्ड टेक्नोलोजी (हिकास्ट)को चौबीसौं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक दोजराज खनालले देशलाई अत्यावश्यक जनशक्ति उत्पादनमा हिकास्टको भूमिकाको प्रशंशा गर्र्दै सरकारी सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गरे । खनालले भने ‘हिकास्टले देशका लागि समयसापेक्ष जनशक्ति उत्पादन गरेर देशका लागि जुन भूमिका निर्वाह गरेको छ । त्यो जनशक्ति उपयोगमा नार्कले सधै सहकार्य गरेर काम गर्न तयार छ ।’
यस्तै कार्यक्रमका विशेष अतिथि पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न आवश्यक जनशक्ति हिकास्टले मात्र उत्पादन गरेको भन्दै हिकास्टलाई थप जनशक्ति उत्पादनमा निरन्तर लाग्न आग्रह गरे । दाहालले हिकास्ससँगको सहकार्य अहिले पनि जारी रहेको र भविष्यमा पनि जारी रहने बताउँदै नेपालको पशु चिकित्सा र कृषिमा हिकास्टले अतुलनीय योगदान पुर्याएको बताए ।
यस्तै कार्यक्रमका विशेष अतिथि भेटेनरी काउन्सिलका अध्यक्ष ब्रज किशोरप्रताप शाहले हिकास्टले २५ वर्षको अवधिमा गरेको काम सरहानीय रहेको बताए । ‘हिकास्टले नेपालको कृषि र पशु बिज्ञान अध्यापनमा जुन जमर्को गरेको छ त्यो निकै महत्वको रहेको बताए । उनले भेटनरी काउन्सिलको मापदण्ड सहजीकरण गर्नुपर्ने आवशयक रहेको बताउँदै सोमा सहकार्य गर्ने बताए ।
यस्तै कार्यक्रममा हिकास्टका अध्यक्ष विनायक प्रसाद राजभण्डारीले हिकास्टले राज्यका लागि पुर्याइरहेको योगदानको राज्यका तर्फबाट उपयुक्त कदर हुन नसकेको गुनासो गरे । ‘हिकास्टले राज्यका लागि आवश्यक जनशक्ति उत्पादनमा जसरी काम गरिररहेको छ । राज्यले सोअनुरुप आवश्यक भूमिका निर्वाह गर्न नसकेको हामीले महसुुस गरेका छौं,’ राजभण्डारीले भने ।
हिकास्टको साधारणसभाले संस्थापक अध्यक्ष राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । साधारणसभामा निर्वाचन समितिको तर्फबाट डा. नन्दबहादुर श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई सपथ गराएका थिए । यस्तै साधारणसभाले हिकास्ष्टका सेयरधनीका लागि पाँच प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ । कार्यक्रममा कृषि तथा पशु चिकित्सा क्षेत्रमा २० वर्षदेखि निरन्तर अध्यापन गराउने प्राध्यापक डाक्टरहरुलाई सम्मान गरिएको थियो । साधारणसभाको कार्यक्रम कम्पनीका कानूनी प्रतिनिधि सन्तोष भट्टराइले सञ्चालन गरेका थिए ।