

असई चन्दले आफ्नै छातीमा गोली हानेपछि…

अछाम । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) ले आफैमाथि गोली प्रहार गरेका छन् ।
तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेका हुन् ।
अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैले बोकेको पेस्तोल बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको बताए ।
चन्दले राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैमाथि गोली प्रहार गरेको पाइएको बताउँदै डीएसपी भण्डारीले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए ।
घटनाबारे छानविन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । चन्दले गोली प्रहार गर्नुको कारण खुलेको छैन ।