भारतीय सेना प्रमुखमा द्विवेदी, ३०औं सेना प्रमुखको रूपमा पदभार ग्रहण



काठमाडौं । भारतीय नयाँ सेना प्रमुखको रुपमा जनरल उपेन्द्र द्विवेदीले पदभार ग्रहण गरेका छन् ।

जनरल द्विवेदीले आइतबार ३० औं सेना प्रमुखको रूपमा पदभार ग्रहण गरेका हुन् ।

जनरल मनोज पाण्डे सैनिक सेवाबाट सेवानिवृत्त भएपछि उनको स्थानमा जनरल द्विवेदीले जिम्मेवारी लिएका हुन् ।

१ जुलाई १९६४ मा जन्मिएका द्विवेदीले सैनिक स्कूल रेवा, नेसनल डिफेन्स कलेज र युएस आर्मी वार कलेजबाट शिक्षा हासिल गरे । उनले डीएसएससी वेलिङ्टन र आर्मी वार कलेज (महू) बाट पनि कोर्स गरेका छन् ।

यसका अतिरिक्त उनी यूएसएडब्ल्यूसी, कार्लिस्ले, अमेरिकाको प्रतिष्ठित एनडीसी समकक्ष पाठ्यक्रममा ‘विशिष्ट फेलो’ सम्मानित भए । उनले रक्षा र व्यवस्थापनमा एमफिल र रणनीतिक अध्ययन र सैन्य विज्ञानमा डिग्री लिएका छन् ।

द्विवेदीलाई परम विशिष्ट सेवा पदक (पीबीएसएम), अति विशिष्ट सेवा पदक (एवीएसएम) र तीन जीओसी इन सी प्रशंसापत्र प्रदान गरिएको छ ।

द्विवेदीसँग सैन्य गतिविधिमा करिब ४० वर्षको अनुभव छ । उनी १५ डिसेम्बर १९८४ मा भारतीय सेनाको इन्फेन्ट्री जम्मु कश्मीर राइफल्समा भर्ती भएका थिए । आफ्नो लामो र विशिष्ट सेवा अवधिमा उनले विभिन्न कमाण्ड, कर्मचारी र निर्देशात्मक पदहरूमा सेवा गरेका छन् ।

द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो परिचालन अनुभव छ । उनले कश्मीर उपत्यका, असम राइफल्स सेक्टर, इन्स्पेक्टोरेट जनरल असम राइफल्स, भारत–म्यानमार सीमामा आफ्नो बटालियनको कमान्ड गरिसकेका छन् ।

उनले आर्म्ड ब्रिगेडमा स्टाफ अफिसर, सैन्य अपरेशन महानिर्देशनालय, सैन्य सचिव शाखा र डिभिजनल र कोर मुख्यालयमा काम गरेका छन् । द्विवेदीले ६२ वर्षको उमेरसम्म वा तीन वर्ष जुन पहिले हुन्छ, त्यसअवधिभर पदमा रहनेछन् ।

३१ मेमा जनरल पाण्डेको समयावधि सकिए पनि भारतमा लोकसभाको निर्वाचन चलिरहेकोले एक महिना कार्यकाल थपिएको थियो ।

पाण्डेले ३० अप्रिल २०२२ देखि भारतीय सेना प्रमुखको जिम्मेवारीमा रहेका थिए ।