विश्वकपमा शानदार प्रदर्शनसँगै अफगानिस्तान सेमिफाइनलमा, बाहिरियो अस्ट्रेलिया



काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानले ऐतिहासिक प्रदर्शन गरेको छ ।

अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलोपटक सेमिफाइनल प्रवेश गरेको छ भने पूर्व विश्वविजेता अस्ट्रेलिया सेमिफाइनल पुग्न असफल भएको छ ।

१९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७।५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

बंगलादेशका लागि ओपनर लिट्टन दासले सर्वाधिक ५४ रन बनाए । त्यस्तै तोहिद हृदोयले ९ बलमा १४ रन जोडे । त्यस्तै, सौम्य सरकारले १० बलमा १० रनको योगदान दिए ।

कप्तान रासिद खानले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय ५० विकेट लिने खेलाडी पनि बने । उनले न्युजिल्यान्डका टीम साउथीको कीर्तिमान तोडेका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए ।

कप्तान रासिद खानले १० बलमा १९ रन जोडे । उनले ३ छक्का प्रहार गरे । त्यस्तै, इब्राहिम जादरानले २९ बलमा १८ रन तथा अज्मतुल्लाह ओमरजाईले १२ बलमा १० रन बनाए ।

कसिलो बलिङ गरेको बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । त्यसैगरी तास्किन अहमद र मुस्तफिजुर रहमानले १–१ विकेट लिए ।