

जवानसँग आपत्तिजनक अवस्थामा श्रीमती भेटिएपछि अमल्दार बुढाथोकीले हाने खुकुरी, श्रीमतीको मृत्यु, जवान थापा गम्भीर घाइते

दाङ । दाङको तुलसीपुरमा नेपाली सेनाका जवान शालिकराम बुढाथोकीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार बुढाथोकीले तुलसीपुर ६ डुम्रीगाउँमा बस्दै आएकी श्रीमती टिका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।
शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
शालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाकै जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने शालिकराम इप्रका तुलसीपुरको नियन्त्रणमा छन् ।