यी हुन् कोठाभित्रै श्रीमतीलाई जवानसँग आपत्तिजनक अवस्थामा भेटेपछि खुकुरी हान्ने अमल्दार शालिकराम



दाङ । आफ्नी श्रीमतीलाई सैनिक जवानसँग आपत्तिजनक अवस्थामा भेटिएपछि दुवैजनामाथि खुकुरी प्रहार गरेका नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् ।

आज शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका -६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरी सेनाका अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए।

फरार बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

शालिकरामले श्रीमतीसँग आपत्तिजनक अवस्थामा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई पनि खुकुरी प्रहार गरेका थिए । थापाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेको र उनी अहिले इलाका प्रहरी कार्यालय तुल्सीपुरको नियन्त्रणमा रहेको जनाइएको छ ।