नेपाल लाइफको साधारण सभा सम्पन्न, प्रतिशेयर मूल्य ५० कायम गर्ने प्रस्ताव पारित

पर्सा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा वीरगञ्जमा सम्पन्न भएको छ । सभाले सेयरधनीहरुलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस सेयर तथा प्रति शेयर २० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनश सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६ सय ६१ हुनेछ ।

अध्यक्ष गोविन्दलाल संघईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३०.०९ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।

सभाले साना लगानीकर्ताहरुको समेत कम्पनीको सेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रति सेयर अंकित मूल्य १०० को व्यवस्थालाई परिवर्तन गरि प्रति सेयर अंकित मूल्य ५० कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको छ । सम्पत्ति र दायित्व बीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानी गर्ने तर्फ ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको छ ।

सभाबाट आ.व.२०७५/०७६ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ ।

सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचनबाट विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

साथै संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरि सोको स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख भन्दा बढी व्यक्ति बीमित भइसकेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *