निफ्राको शेयर नेप्सेमा सूचीकरण, आइतबारदेखि कारोबार हुने



काठमाडौं । हालसम्मकै ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को धितोपत्र कारोबार आगामी आइतबारदेखि हुने भएको छ।

नेप्सेस्थित निफ्रा र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच सूचीकरणका लागि बिहीबार सम्झौता हुँदैछ ।

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को नेप्सेमा सेयर सूचीकरण भएपछि आगामी आइतबारबाट भने दोस्रो बजारमा सेयर कारोबार हुनेछ।

निफ्राको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रु. ११३.६२ देखि ३४०.८६ रेन्ज तोक्ने जनाएको छ ।

निफ्राले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।