हृदयविदारक क्षणः जब गोरखाबासीको आँशु दरौंदी जस्तै बगिरह्यो…



गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १३ स्थित रामशाह घाट शनिबार साँझ गोरखाबासीका साथै घटना सुन्ने जतिका लागि हृदयविदारक क्षण बन्यो । जहाँ शनिबार बिहान छोरोलाई पशुपतिको आर्यघाटबाट सदाका लागि बिदाई गरेर फर्कँदै गरेकी ७० वर्षीया जुनमाया रोकासहित छोरीहरु, ज्वाईं र नातीहरु अचल रुपमा सलोमा सुताइएका थिए । जब उनीहरुको शवमा आफन्तले दागबत्ती दिए तब, दरौंदीजस्तै उपस्थित सबैका आँशु बगे ।

क्यान्सरबाट ३९ वर्षीय छोरालाई पशुपतिको आर्यघाटमा सेलाएरकी जुनमायाले छोरीहरुसहित परिवारका ५ सन्तानका साथ शंकरकै बाटो रोजिन्, त्यो पनि शंकरका छोरा दिवसको बेखबरसँगै ।

आफ्नो शिरको सिन्दुर केही वर्ष अघि गुमाएकी जुनुमायाले कोख गुमाएको केही घन्टामै आफूले पनि ज्यान गुमाउनु पर्ला भनेर पक्कै सोचेकी थिइनन्, तर दैवको लीला भयो त्यस्तै ।

शुक्रबार शीरको सिन्दुर गुमाएकी शंकरकी श्रीमती बबिताले शनिबार बिहानै आफूले जन्म दिएको छोरा दिवस बेपत्ता भएको पीडासँगै परिवार अन्य सदस्यहरु सासु, अमाजु, नन्द र भान्जाका साथै ज्वाईंंलाई पनि गुमाइन् ।

दुई दिनको फरकमा शीरको सिन्दुर र काखको कोख गुमाएकी बबिता अहिले बेहोस् अवस्थामा छिन् । दुई दिनको बीचमा घरका तीनै पुस्ता गुमाउनुपर्दा रोका परिवारमा परेको बज्रपात कल्पनासम्म पनि गर्न नसकिने खालको छ ।

क्यान्सर रोगबाट पीडित पति शंकर रोकाको निधन भएपछि शुक्रबार साँझ पशुपतिस्थित आर्यघाटबाट अन्तिम बिदाई गरेका रोका परिवार तीन वटा गाडी लिएर १३ दिने पितृकार्यका लागि गोरखा फर्कँदै थिए । तर, त्यो परिवारले गोरखा पुग्नुभन्दा करिब एक घन्टा अगाडि नै अर्को बज्रपात सहनुपर्यो । रोका परिवारका माइला ज्वाईं अर्जुन शिर्मलले चलाएको बा२ज ४१९६ नम्बरको ट्याक्सी इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारास्थित सडकबाट त्रिशुलीमा बजारिँदा पुरै सवार ६ मध्ये ५ जनाको शव भेटिइसकेको छ भने एक जनाको अवस्था थाहा हुन सकेको छैन । अर्जुनले त्रिशुलीमा खसिसकेपछि फोन शंकरका काकाका छोरा प्रकाशसँग गुहार मागे पनि उनले उनी प्रकाश आउँदासम्म कुर्न सकेनन्, अन्ततः त्रिशुलीमै डुबेर अस्ताए ।

प्रकाश र अर्जुन दुवैले ट्याक्सीमा आफन्तहरु बोकेर गइरहेका बेला प्रकाश मुग्लिन पुगिसक्दा पनि अर्जुन नपाइपुगेपछि फोन गर्दा नउठेको प्रकाशले जनाए । त्यसको केही छिनपछि अर्जुनले फोन गर्दै ‘दाई मलाई मलाई बचाउनुहोस् म डुब्न लागेँ भनेको बताउँदै प्रकाश भक्कानिए । तर, अर्जुनले घटनाबारे विस्तृत बताउन सकेनन् । जब उनीहरुसहित प्रहरी अर्जुन भएको ठाउँमा पुग्यो, सबै सकिइसकेको थियो । अर्जुनसहित ५ जना अचल अवस्थामा पानीमा डुबेको अवस्थामा थिए भने शंकरका १८ वर्षीय छोरा दिवसको अहिलेसम्म पनि पत्तो छैन ।

घटनामा जुनुमायासँगै जेठी छोरी हरिमाया रोका (उपरकोटी), कान्छी छोरी अञ्जना रोका, नाती आगमन उपरकोटी (हरिमायाको छोरा) र माइला ज्वाईं अर्जुन शिर्मल (ट्याक्सी चालक) को शव भेटिएको थियो ।

दुर्घटना भएको खबर पाउनासाथ घटनास्थलमा पुगेका वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले हराएका दिवसको खोजी प्रहरीले गरिराखेको जनाएका छन् । उनी भन्छन्, ‘प्रहरी र स्थानीयबासीले पनि खोजेका छौं, तर, अब सकुशल भेटिने आशा ज्यादै न्यून छ ।’ उनले यो पीडा रोका परिवारमाथि मात्र परेको नभई सम्पूर्ण वडा नं. ७ र गोरखाबासीमा परेको बज्रताप भएको बताएका छन् । उनले भनेका छन्, ‘ज्यादै नराम्रो घटना घट्यो, परिवार नै तहसनहस भयो ।’