

राष्ट्रियसभाका २० सांसदको बिदाई, आज नयाँ १९ को सपथ

काठमाडौं । संघीय संसदअन्तर्गत माथिल्लो सदन राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिएको छ। उनीहरुले २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेका हुन्।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिएको हो।
त्यस्तै कांग्रेसका चार सांसद रमेशजंग रायमाझी, अनीता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा भए । माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा पनि बिदा भए।
त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्दा चापाईं, सिंहबहादुर विश्वकर्मा, खिमलाल देवकोटा, जसपाबाट प्रमिलाकुमारी र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको कार्यकाल पनि सकिएको छ।
रिक्त हुने २० मध्ये १९ जना माघ ११ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भइसकेका छन्। उनीहरुले आजै शपथ लिनेछन्। एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।
५९ सदस्यीय राष्ट्रियसभाका लागि २०७४ सालमा नयाँ संविधान जारी भएपछि ५६ सदस्य निर्वाचित भएका थिए भने तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए।
यसैबीच राष्ट्रियसभाको नयाँ अध्यक्षमा कांग्रेस र माओवादीले दाबी गरेका छन्। कांग्रेसले कोशी प्रदेशबाट निर्वाचित कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी गरे पनि माओवादी केन्द्रले भने राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएको छ।
अब राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्नेछ।