कतार बन्यो एसिया च्याम्पियन, जोर्डन ३-१ ले पराजित

काठमाडौं । कतार लगातार दोस्रो पटक एएफसी एसियन कपको च्याम्पियन बनेको छ।

घरेलु मैदानमा भएको फाइनलमा जोर्डन माथि ३-१ को जित निकाल्दै कतार लगातार दोस्रो पटक एसियन च्याम्पियन बनेको हो।

कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका थिए। अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भए।

कतारले खेलको २२औं मिनेटमा अग्रता लिएको थियो। अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए।

६७औं मिनेटमा जोर्डनले बराबरी गोल गर्यो। यजान अल(नैमातले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर कतारले त्यसपछि दुई गोल थप्न सफल भयो।

७२औं मिनेटमा कतारले दोस्रो पेनाल्टी पाएको थियो। सो अवसरमा अफिफ चुकेनन् र कतारलाई खेलमा पुनः अग्रता दिलाए।

तेस्रो गोल भने इन्ज्युरी समयको पाँचौं मिनेटमा आएको थियो। यसपटक पनि अफिफ माथि नै फाउल भएको थियो। उनले पुनः कुनै गल्ती नगरी ह्याट्रिक पूरा गरे ।

लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीन विरुद्ध जित निकालेको थियो भने अन्तिम १६ मा प्यालेस्टाइन माथि २(१ को जित निकालेको थियो।

क्वाटरफाइनलमा उज्बेकिस्तान विरुद्ध टाईब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई हराएको थियो।

कतारले २०१९ मा जापान माथि ३-१ को जित निकाल्दै पहिलो पटक उपाधि जितेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *