१६ वर्षमा पेन्सन नहुँदा प्रहरीमा जागिर छाड्नेको लर्को !



काठमाडौं । मुलुकको शान्ति सुरक्षा र जनतासँग सबैभन्दा पहिला प्रत्यक्ष पुग्ने नेपाल प्रहरी हो । सोही प्रहरी संगठनमा पछिल्ला केही वर्षहरुमा राजनीति हाबी हुँदै गइरहेको सञ्चारमाध्यममा यथेष्ट देख्न पाइन्छ । कतिपय संगठनभित्रका उच्च अधिकृतदेखि तल्लो तहका कर्मचारीहरुले विभिन्न माध्यमबाट पोखेको असन्तुष्टि पनि त्यसको प्रमाणको रुपमा पाउन सकिन्छ ।

केही महिनाअघिदेखि चर्चामा रहेको नेपाल प्रहरीको १६ वर्षमै पेन्सन पाउनुपर्ने कुराको चर्चा सेलाउँदै गएपछि तल्ला तहका कर्मचारीहरुमा अन्यौलता थप बढेको छ । यसअघि केही महिना अगाडि गृह मन्त्रालयले गरेको ३० वर्षे सेवा अवधि हटाउने प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिए पनि १६ वर्षमै पेन्सन पाउनुपर्ने प्रस्तावलाई भने सहमति दिएन । जसले गर्दा तल्लो तहका प्रहरी कर्मचारीहरुमा थप अन्यौलता बढेको हो ।

नेपाली सेनामा १६ वर्षमा पेन्सनको सुविधा भए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भने सो नियम अहिलेसम्म लागू हुन सकेको छैन । त्यसैमाथि नेपाली सेनामा कार्यरत तल्लो तहका कर्मचारीहरु जागिरे जीवनमा १ पटक शान्ति मिसनमा अनिवार्य जान पाउने भएकाले पनि नेपाल प्रहरीमा थप वितृष्णा देखिएको पाइन्छ ।

प्रहरी नियमावली, २०४९ मा प्रहरी जवान र प्रहरी हवल्दार दर्जामा १६ वर्ष सेवावधि पूरा गरे पश्चात पेन्सन पाउने व्यवस्था रहे पनि प्रहरी नियमावली, २०७१ मा भने २६ चैत २०६० पछि नियुक्त हुने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई २० वर्ष अवधिसम्म प्रहरी सेवामा काम गरेपछि मात्र पेन्सन पाउने व्यवस्था रहेको छ । जसको प्रत्यक्ष मारमा तल्ला तहका कर्मचारीहरू परेको अनुभूत गरिरहेका पाइन्छन् ।

२० वर्ष नपुगी पेन्सन नपाउने भएपछि कतिपय प्रहरीहरुले विचमै राजीनामा दिने गरेको पाइन्छ । त्यो क्रम पछिल्लो समय झन् तीब्र रुपमा बढ्दै गएको छ । पछिल्लो समय बढ्दै गएको महंगीका कारण परिवार धान्न मुस्किल हुन थालेपछि तल्ला तहका कर्मचारीहरु जागिर छाडेर वैदेशिक रोजगारका लागि जाने प्रचलन बढ्दै गएको पाइन्छ । वैदेशिक रोजगारका लागि कोरिया, युरोप र कतिपय खाडी मुलुकमै जानकै लागि प्रहरीहरुले जागिर छाड्ने गरेको पाइन्छ ।

मासिक तलबले घरखर्च धान्न, बच्चा पढाउनमै सकिने भएकाले परिवार भविष्यका लागि केही गर्छु भन्नेका लागि अपुग हुने बताउँदै सुन्दर भविष्यको कल्पनामा धेरैले पछिल्ला दिनमा जागिर छाड्ने गरेको बताइन्छ । लामो समयसम्म बढुवा नहुने र २० वर्षसम्म जागिर खानुपर्ने र जीवनको ४० वर्षपछि वैदेशिक रोजगारमा पनि जान असम्भव हुने भएकाले नेपाल प्रहरीमा जागिर खाएको १०–१२ वर्षको अवधिमा धेरैले जागिर छाड्ने गरेको पाइएको छ ।

डे–टुडे बढी खटिनुपर्ने, बढी ड्युटी गर्नुपर्ने र २४सै घण्टा व्यस्त हुने प्रहरी कर्मचारीलाई चाहिँ २० वर्ष तर ब्यारेकमा बस्ने सेनालाई चाहिँ १६ वर्षमै पेन्सन व्यवस्था गर्दा प्रहरी कर्मचारीको मनोबल घटेको कतिपय प्रहरी कर्मचारीहरूले गुनासो पोख्ने गर्दछन् ।

अधिवक्ता युवराज सफलले सेनाकै सरह नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले पनि १६ वर्षमा पेन्सन पाउनुपर्ने माग राखी दर्ता गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । यही माघ १७ गते सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले दिएको उक्त आदेशअनुसार सरकारले जवाफ पेस गर्नुपर्ने देखिएको छ । त्यसबारेमा आगामी पेसीले नै निर्णय गर्ला, त्यो प्रतिक्षाको विषय नै छ ।

मुलुकमा रहेका चारवटा सुरक्षा संगठनमा सबैभन्दा बढी समय कार्यस्थलमा खटिने प्रहरीभित्रै यस्तो किसिमको मानसिकताले जरो गाड्नुले संगठनलाई पक्कै पनि हित गर्दैन । पछिल्ला दिनमा बढ्दै गएको प्रहरीमा जागिर छाड्नेको संख्यालाई कमी गराउनका लागि संगठनका साथै सरकारले गहन रुपमा सोच्नुपर्ने बेला आएको छ । अन्यथा यसले भविष्यमा समयअगाडि नै जागिर छाड्नेको संख्या बढ्ने र सरकारले लगानी गरेर दक्ष बनाएका कर्मचारीले संगठन छाड्दा मुलुकले भोग्नुपर्ने घाटा अमूल्य हुनसक्दछ ।