

न्यूरोड क्षेत्र जाँदै हुनुहुन्छ ? कहाँ पाइन्छ त ‘फ्रि’ मै पार्किङ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने जनाएको छ ।
नयाँ सडकमा सवारी पार्किङ निषेध गरेपछि सहज पार्किङस्थल उपलब्ध गराउने उद्देश्यसहित धरहरा क्षेत्रको पार्किङ उपलब्ध गराइएको महानगरको भनाइ छ ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएका छौँ । सरोकारवालासँगको समन्वयमा आइतबारदेखि धरहरा क्षेत्रमा रहेको बेसमेन्टमा पार्किङ सेवा उपलब्ध गराइएको हो ।’
उनका अनुसार तीन तला पार्किङ निर्माण गरिएको धरहरा क्षेत्रमा कुल डेढ लाख वर्गफिट क्षेत्रफलमा पार्किङ गर्न सकिन्छ । चारपाङ्ग्रे सवारीसाधन चार सय र मोटरसाइकल एक हजार पाँच सयभन्दा बढी पार्किङ गर्न सकिन्छ ।
संरचनागत रूपमा यो ठाउँ मुलुककै अहिलेसम्मको सबभन्दा ठुलो पार्किङ संरचना रहेको बताइएको छ ।