

बदमास प्रहरी जवान यादवः जो १६ वर्षअघि थुनुवा लिएर भागे, अहिले परे पक्राउ

काठमाडौं । १६ वर्ष अघि एक थुनुवासहित फरार रहेका नेपाल प्रहरीका तत्कालीन जवान पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका प्रहरी जवान वीरवल राय यादवलाई लामो समयपछि पक्राउ गरेको हो ।
उपत्यका कार्यालयबाट खटिएको विशेष टोलीले यादवलाई भारतबाट नेपाल आएको मौकामा पक्राउ गरेको जनाइएको छ । रौतहट घर भएका यादवले भारतमा रहँदा ट्याक्सी चलाउने व्यवसाय गर्ने गरेको पनि खुलेको छ ।
यादवले लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिक असरफ आलमलाई भगाउन १ करोडबाट सुरू गरेर १० लाख डिल गरेको पछि ६ लाख २५ हजार पाएको प्रहरीको भनाइ छ ।
खैरो हेरोईन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा भारत पुर्विचम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम, थाना रक्सौल बस्ने असरफ आलमलाई २०६४÷०२÷०९ गते राति साढे ८ बजेतिर प्रहरी जवान वीरवल राय यादवले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी बाहिर निकाली दुवैजना फरार भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तत्कालीन जवान यादवलाई नेपाल(भारत सीमा काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याएर आज सार्वजनिक गरेको हो ।