पूर्व सई गए छोरीमाथि करणी प्रयासको आरोपमा जेल



कैलाली । आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब निरीक्षक (सई) कारागार चलान भएका छन् ।

मंगलबार कैलाली जिल्ला अदालतले उनलाई पुर्पक्षका कारागार चलान गर्ने आदेश दिएको हो ।

गत असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै अन्दाजी ५० वर्षीय अवकाश प्राप्त सईले करणी प्रयास गरेको भन्दै अन्दाजी २२ वर्षीय छोरीले उजुरी दिएकी थिइन् ।

त्यसपछि फरार रहेका उनलाई पक्राउ गरि जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरिएको थियो । उनीविरुद्ध अदालतमा जबर्जस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती धनगढी (घर) आएकी थिइन् । घर आएकी छोरीलाई उनले करणी प्रयास गरेका थिए । घटना असोज १३ गते रातिको भएपनि आफ्ना बुवाविरुद्ध छोरीले करणी प्रयासको आरोपमा असोज १९ गते उजुरी दिएकी थिइन् ।