

सर्वोच्चले आज ६ नयाँ न्यायाधीश पाउने !

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज आउने भएको छ ।
सो निर्णय सुनाउनको लागि आज बिहान ११ बजे संसदीय समितिको बैठक बस्न लागेको हो । गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो ।
मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ थालेको थियो । सोमबार सुनुवाइ सकिएको थियो । उक्त सुनुवाई समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।
संसदीय सुनुवाइ सकिएका प्रस्तावित ६ न्यायाधीशमा सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन् ।
समितिबाट नाम अनुमोदन भए राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।