ब्यारेकअघि सडकमै किन सुतिन् ‘हवल्दार मेजर’की पत्नी कमला ?



इटहरी । सेनाका हवल्दार मेजर पर्शुराम भट्टराईकी पत्नी हुन्, कमला। उनी विहीबार नेपाली सेनाको पूर्वी पृतना कार्यालय अघि सडकमै सुतिन्। सडक जाम भयो। उनी भन्दै थिइन्– न्याय देऊ !

पर्शुराम अब यो दुनियाँमा छैनन्। ६ महिना अघि उनको अकास्मात् निधन भयो। अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको छ।

तर कमला भन्छिन्,‘हामीलाई अस्पताल लगेपछि मात्र जानकारी गराइयो, उहाँको स्वभाविक निधन थिएन, हत्या भएको भन्ने आशंका छ। जाहेरी दियौं किन छानबिन भएन ?’

पर्शुराम निधन भएको बेला पृतना अन्तर्गतको २ नम्बर बाहिनी धनकुटा हिलेमा कार्यरत थिए। ५ जेठमा उनी घाइते भएका थिए। १२ जेठमा बिराटनगरको बीएमसी अस्पतालमा उनको निधन भयो।

‘त्यसअघि के भएको थियो ? जानकारी गराइएन। हामीलाई न्याय चाहियो’, कमलाले सडकमै सुतेर यो माग राखिन्।

कमला मात्र होइन, उनका आफन्त र छिमेकी पनि प्लेकार्डसहित नाराबाजी गर्दै न्याय मागिरहेका छन्। उनीहरूले नेपाली सेना मुर्दावादसम्मको नारा लगाएको बताइन्छ।

निधन भएका पर्शुराम सुनसरीको रामधुनी वडा नं। ३ का हुन्। उनको हत्या भएको दाबीसहित पत्नी कमलाले सेनाका तत्कालिन वाहिनीपतिसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

उनलाई शंका छ,‘उच्च तहका व्यक्ति भएकाले दबाबमा अनुसन्धान बढाइएन।’ पर्शुराम जवान थिए। ३८ वर्षमात्र पुगेका थिए। उनको मृत्युको कारण के हो ? प्रदर्शनमा आएकाले सोधेका छन्।

‘हामीलाई त्यसबेला त्यसै शंका लागेको होइन। बिरामी भई अस्पताल लगेको सूचना पाएपछि हामी हेर्न गयौं।

देब्रे पट्टि कन्चट नजिक गम्भिर चोट लगेर भित्रपट्टि हड्डी फुटे जस्तो देखिन्थ्यो’, प्रदर्शनमा आएका एक जना आफन्तले भने,‘हत्या होइन कसरी भन्ने ?

वै आँखामा निल डाम, दाहिने हात, घुडालगायत शरिरको विभिन्न भागमा थुप्रै ठाउँ चोट लागेर अचेत भएको थियो।’