

खाना पकाउने ग्याँसमा सय रूपैयाँ घट्ने, पेट्रोलमा बढ्ने भयो ८ रूपैयाँ !

काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने भएको छ ।
मंगलबार भारतीय आयल निगम (आईओसी)बाट ग्यासको मूल्य प्रतिसिलिन्डरमा १०० रुपैयाँले घटेर आएको छ । नेपालमा स्वचालित प्रणाली लागु भएकाले अब सोहीअनुसार मूल्य घट्ने नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
‘आज बेलुका ५ बजे बोर्ड बैठक बस्दै छ, ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँ हाराहारीले घटेर आएको छ,’ उनले भने, ‘त्योअनुसार स्वचालित मूल्य लागु हुन्छ । बैठकले निर्णय गर्छ ।’
उनका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने बढेर आएको छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटरमा आठ, डिजेल प्रतिलिटरमा सात, मट्टीतेल प्रतिलिटरमा सात रुपैयाँ ५० पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटरमा आठ रुपैयाँ ५० पैसाका दरले बढ्नेछ ।
नेपालमा नयाँ मूल्यसूची आजै राति १२ बजेदेखि लागु हुने उनको भनाइ छ ।