लारक्याल लामालाई लुम्बिनी विकास बोर्डको उपाध्यक्ष बनाउने तयारी !



काठमाडौं – लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्तित्व लारक्यार लामालाई नियुक्ति गर्ने चर्चा चलेको छ ।

वर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको कार्यकाल सकिएसंगै उक्त पदका लागि विभिन्न व्यक्तिहरुको दौडधुप चलिरहेको बेला ल्यारक्याल लामालाई आजै मन्त्रिपरिषदको बैठकबाट नियुक्ति गर्न लागेको स्रोतले बतायो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य लामालाई कोषको उपाध्यक्षमा सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई निर्देशन दिएको उच्च स्रोत बताउँछ ।

त्यसो त कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा, यसअघिका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) र सिद्धार्थ महर्जन र कोषका पूर्वसदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षुको नाम पनि चर्चामा छ ।

विगतमा लारक्याल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको लामाको लकरमा १४ थान गोली भेटिएपछि उनी पक्राउ परेका थिए ।

अवैध हतियार राखेको र अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा खेपिरहेका उनलाई विशेष अदालतबाट सफाइ पाएका थिए । उनीविरुद्ध अख्तियारले ९ करोड २४ लाख अकुत सम्पत्ति जोडेको अभियोगमा मुद्दा दायर गरेको थियो । लामा १ करोड धरौटीमा छुटेका थिए ।

लामालाई तीन पासपोर्ट भएको, स्वतन्त्र तीब्बत आन्दोलनमा लागेको, बुढानीलकण्ठ नगरपालिका २ गणेशचोकमा रहेको लामाको घरसँगै रहेको सरकारी जमिनकब्जा गरेर लामो समयदेखि भोगचलन गरिरहेको, वैदेशिक रोजगार ठगी, जस्तो दर्जनौं आरोपहरु लागेको थियो । उनी वैदेशिक रोजगारीको ठगि मुद्दामा समेत ३० लाख धरौटीमा रिहा भएका थिए ।

लामाको राजनीतिक यात्राः
२०५८ मा ल्यारक्याल लामालाई तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले  गुम्बा व्यावस्थापन समितको अध्यक्षमा नियुक्ति गरेका थिए ।

०६३ पछि फेरि सभासद् हुने खेलमा लागेका उनले कांग्रेसबाट सम्भावना नदेखेपछि एमाले प्रवेश गरे । त्यसपछि उनी एमालेबाट समानुपातिक सभासद भए ।

त्यसपछि उनी समानुपातिकको सूची बुझाउने अघिल्लो दिन उनी माओवादी प्रवेश गरे । माओवादीको चुनावमा राम्रो मत नआएपछि उनी समानुपातिक सभासद् बन्न पाएनन् । तर, पछि संविधानसभा अदालतले ५ कार्त्तिक ०७१ मा सभासद् शम्भु हजारा पासवानको पद खारेज गरेपछि लारक्याल माओवादीले सांसद बनेका थिए ।