कहाँ अड्कियो प्रहरीको १६ वर्षे पेन्सन प्रस्ताव ?

बढ्दो महंगी र ढिलो बढुवाका कारण राजीनामा दिएर वैकल्पिक आम्दानीको स्रोतको खोजी गर्ने क्रम बढ्यो



काठमाडौं । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने निर्णयका लागि अर्थ मन्त्रालयले सहमति दिए पनि तल्लो तहका प्रहरी कर्मचारीहरुले राखेको मागमा भने अन्यौलता थपिएको छ ।

प्रहरीका लागि ३० वर्षे सेवाअवधि हटाउनुपर्ने र जवान र सहायक हवल्दारले १६ वर्षमै पेन्सन पाउनुपर्ने भन्दै अर्थ मन्त्रालयमा सहमतिका लागि गृहले पठाए पनि अर्थले माथिल्लो प्रस्तावलाई सहमति जनाउँदै तल्लो प्रस्तावमा निर्णय नदिएको जनाइएको छ ।

अर्थले १६ वर्षमै पेन्सन पाउने भन्ने प्रस्तावलाई तत्कालका लागि केही निर्णय नदिएर नेपाली सेनामा झै २० वर्षपछि मात्र पेन्सन पाउने निर्णय गर्नसक्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । नेपाली सेनामा १६ वर्षमा पेन्सको सुविधा भए पनि २० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था रहेको छ ।

नेपाल प्रहरीमा प्रहरी नियमावली, २०४९ मा प्रहरी जवान र प्रहरी हवल्दार दर्जामा १६ वर्ष सेवावधि पूरा गरे पश्चात पेन्सन पाउने व्यवस्था रहे पनि प्रहरी नियमावली, २०७१ मा भने २६ चैत २०६० पछि नियुक्त हुने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई २० वर्ष अवधिसम्म प्रहरी सेवामा काम गरेपछि मात्र पेन्सन पाउने व्यवस्था रहेको छ । जसको प्रत्यक्ष मारमा तल्ला तहका कर्मचारीहरू परेको अनुभूत गरिरहेका पाइन्छन् ।

त्यही असन्तुष्टीलाई सम्बोधन गर्नका लागि गृहले अर्थसँग सहमतिका लागि पठाए पनि तत्काल कुनै निर्णय नभएपछि तल्ला तहका प्रहरी कर्मचारीहरु थप अन्यौलमा परेका हुन् ।

२० वर्ष नपुगी पेन्सन नपाउने भए पनि कतिपय प्रहरीहरुले विचमै राजीनामा दिने गरेको पाइन्छ । त्यो क्रम पछिल्लो समय झन् तीब्र रुपमा बढ्दै गएको छ । त्यसको प्रत्यक्ष प्रमाण गत सातामात्र प्रधान कार्यालयले २२ जना कर्मचारीलाई हाजिर हुन प्रकाशित गरेको सूचनाले पुष्टी गरेको छ । जसले गर्दा आगामी दिनमा १६ वर्षमा पेन्सन अवधि कायम नगरेमा लामोसमयसम्म दक्ष बनाउनका लागि संगठन र सरकारले गरेको लगानी खेर जाने सम्भावना बढ्दै गइरहेको छ । बढुवा नहुने र २० वर्षसम्म जागिर खानुपर्ने बाध्यतालाई पाखा लगाउँदै प्रहरीका तल्ला तहका कर्मचारीहरुले जागिर छाड्दै जाने चलन बढ्दै गएको अहिलेको परिवेशलाई मध्यनजर गर्दै सरकारले १६ वर्षमा पेन्सन पाउनुपर्ने प्रस्तावलाई पास गर्दै प्रहरी कर्मचारीहरुलाई थप हौसला र जिम्मेवारी बनाएर अगाडि बढेमा दक्ष जनशक्तिले लामोसमयसम्म देशका लागि सेवा गर्न सक्ने अपेक्षा लिन सकिन्छ ।

पछिल्लो समय बढ्दै गएको महंगीका कारण परिवार धान्न मुस्किल हुन थालेपछि तल्ला तहका कर्मचारीहरु जागिर छाडेर वैदेशिक रोजगारका लागि जाने प्रचलन बढ्दै गएको पाइन्छ ।