

अष्ट्रेलियामा बस दुर्घटनामा परी १० जनाको मृत्यु

साउथ वेल्स । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिएको छ ।
सो घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा १० जनाको मृत्यु भएको र ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो । साथै, १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो। समाचार अनुसार बसका चालकलाई अनिवार्य परीक्षण र मूल्याङ्कनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको थियो ।
घाइते पीडितहरूलाई सडक र हवाई मार्गबाट हन्टर उपत्यकाका धेरै अस्पतालहरूमा लगियो, जसमा घाइतेहरु नजिकको न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ । सेसनकका मेयर जय सुवलले बस दुर्घटनालाई ‘भयानक’ भनेका छन् ।