

नेपाल र अमेरिकी सेनाबीच आजदेखि ‘ल्यान्ड फोर्स टक’ हुँदै

काठमाडौं । नेपाल र अमेरिकाका सेनाबीच आजदेखि ‘ल्यान्ड फोर्स टक’ (एलएफटी) हुने भएको छ ।
काठमाडौंमा हुने दुई देशका स्थल सेनाबीचको संवाद तीन दिनसम्म चल्नेछ ।
क्षमता अभिवृद्धिका लागि हुने संवादमा दुई देशका सेनाबीच सहकार्यका सम्बन्धमा छलफल हुनेछ ।
संवादमा शान्ति मिसन, मानवीय सहयोग र विपद् प्रतिकार्य, क्षमता र विज्ञता आदानप्रदानबारे छलफल हुने नेपाली सेनाले जनाएको छ ।
संवादका लागि २२ सदस्यीय अमेरिकी टोली शनिबार नै काठमाडौं आइसकेको छ ।
नेपालका तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीसहित सेनाका रथी र अधिकृत गरी १४ सदस्यीय टोली सहभागी हुनेछ ।
सन् २०१८ देखि नेपाली र अमरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै आएको छ ।